नेपालगन्ज । महिलाहरूको महिनावारी स्वास्थ्य तथा स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जमा ‘फ्रीडम किट ब्याग’ (महिनावारी झोला) बनाउने सातदिने तालिम सुरु भएको छ।
सामाजिक विकास डिभिजन बाँकेको सहयोग तथा दिदीबहिनी समाज बाँकेको आयोजनामा सुरु भएको तालिममा नेपालगन्ज उपमहानगरपालिका–१० का किशोरी तथा महिलाहरू सहभागी छन्।
आयोजकका अनुसार सेनेटरी प्याडको विकल्पका रूपमा पुनः प्रयोग गर्न मिल्ने कपडाका प्याड तथा फ्रीडम किट ब्याग निर्माण सम्बन्धी सीप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
संस्थाकी अध्यक्ष रमादेवी शाहको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिका सदस्य तथा वडा नं. १० की सदस्य बिना थापा मगर प्रमुख अतिथि रहेकी थिइन्।
कार्यक्रममा कोषाध्यक्ष कमला वलीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सहसचिव शोभा थापा मगरले कार्यक्रम सञ्चालन गरेकी थिइन्। प्रमुख अतिथि थापा मगरले यस्ता सीपमूलक तालिमले महिलाको क्षमता अभिवृद्धि र आत्मनिर्भरता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहलगायतले मन्तव्य राखेका थिए।
सात दिनसम्म सञ्चालन हुने तालिममा अनिता न्यौपाने र पार्वती कडायतले प्रशिक्षण दिनेछन्। तालिममा २० जना किशोरी तथा महिलाको सहभागिता रहेको आयोजकले जनाएको छ।
