काठमाडौं । Lions Clubs International अन्तर्गतको लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको वार्षिक महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित महाधिवेशनमा उपप्रधान तथा गृहमन्त्री **रविन्द्र प्रसाद अर्याल** प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमको अध्यक्षता मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापाले गरेकी थिइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले लायन्स क्लबले सामाजिक सेवाको क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै संस्थाको गैरराजनीतिक र सेवामुखी चरित्रलाई आगामी दिनमा पनि कायम राख्नुपर्नेमा जोड दिए।

महाधिवेशनका अवसरमा लायन्स क्लबका सदस्य रहेका सांसद, पूर्व डिष्ट्रिक्ट गभर्नर, वर्तमान तथा आगामी लायन वर्षका डिष्ट्रिक्ट गभर्नरहरूलाई सम्मान गरिएको थियो। साथै सामाजिक सेवामा उत्कृष्ट योगदान पुर्याउने १५ वटै डिष्ट्रिक्टअन्तर्गतका क्लब तथा लायन्स लिडरहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा स्मारिका (सुभेनियर) तथा नियमित रूपमा प्रकाशित हुँदै आएको ‘लायन म्यागजिन’ समेत विमोचन गरिएको थियो।
पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले नेपालमा लायन्स आन्दोलनको ५४ वर्षे यात्राको चर्चा गर्दै पहिलोपटक महिला नेतृत्वले मल्टिपल काउन्सिल चेयरपर्सनको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको उल्लेख गरे। उनले मिलन थापाको नेतृत्वको प्रशंसा गर्दै कार्यकाल सफल र ऐतिहासिक बनेको बताए।
त्यसैगरी पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले आगामी अन्तर्राष्ट्रिय कन्भेन्सनबारे जानकारी गराउँदै नेपालका लायन्स सदस्यहरूको सक्रिय सहभागिताको अपेक्षा व्यक्त गरे।

कार्यक्रममा आईडी इन्डोर्सी राजन लम्सालले पनि आफ्नो धारणा राख्दै आगामी अन्तर्राष्ट्रिय निर्देशक पदको जिम्मेवारी सफल बनाउन सहयोगको अपिल गरेका थिए।
अध्यक्ष मिलन थापाले आफ्नो कार्यकालभर सहयोग गर्ने सम्पूर्ण लायन्स सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै सामाजिक सेवाको अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।
डिष्ट्रिक्ट ३२५ जी को व्यवस्थापनमा सम्पन्न महाधिवेशनमा नेपालभरका १५ वटा डिष्ट्रिक्टबाट ६०० भन्दा बढी लायन्स लिडर तथा सदस्यहरूको सहभागिता रहेको थियो।
