प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान, यूएन महासभामा नेपालको धारणा राख्ने
काठमाडौं ।प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज मंगलबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दैछन्।
नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जान लागेका प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ अर्थात् असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यस भ्रमणका क्रममा नेपालले पछिल्लो समय जलवायु परिवर्तन तथा प्राकृतिक विपद्का कारण भोग्नुपरेका असरका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी गरेको छ। विशेषगरी भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षति र जलवायु परिवर्तनका प्रभावबारे नेपालको धारणा प्रस्तुत गर्ने बताइएको छ।
प्रधानमन्त्री शाहको नेतृत्वमा जाने नेपाली टोलीमा सरकारका सम्बन्धित अधिकारी तथा प्रधानमन्त्रीको सचिवालयका प्रतिनिधिहरू सहभागी हुनेछन्। न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नुका साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ।
प्रधानमन्त्री पद सम्हालेपछि शाहको यो पहिलो विदेश भ्रमण हो। उनी सेप्टेम्बर २६ मा नेपाल फर्किने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा यसपटक विमानस्थलमा गरिँदै आएको औपचारिक विदाइको परम्परागत शैलीलाई निरन्तरता नदिने तयारी गरिएको समाचारहरूमा उल्लेख छ।
