काठमाडौं । नेपाली भाषा, साहित्य तथा सिर्जनशील लेखनको विकास र उत्कृष्ट साहित्यकारहरूको सम्मान गर्ने उद्देश्यसहित आयोजना हुन लागेको राष्ट्रिय नेपाली साहित्य अवार्ड–२०८३ का लागि आवेदन खुला गरिएको छ।
आयोजक संस्था रेस्पोन्सिभ मिडिया प्रा.लि ले गुरु पूर्णिमाको अवसर पारेर अवार्डको आवेदन फारम सार्वजनिक गरेको जनाएको छ। संस्थाले देश तथा विदेशमा रहेका नेपाली साहित्यकार, लेखक, कवि, समालोचक, अनुवादक तथा साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका स्रष्टाहरूलाई आवेदन दिन आग्रह गरेको छ।
आयोजक समितिका अध्यक्ष मनोज थापाका अनुसार यस वर्षको अवार्ड विभिन्न २० विधामा प्रदान गरिनेछ। ती विधामा सर्वोत्कृष्ट कविता, महाकाव्य, खण्डकाव्य, गीत, गजल, मुक्तक, हाइकु, उपन्यास, कथा, लघुकथा, नाटक, निबन्ध, नियात्रा, संस्मरण, आत्मकथा/जीवनी, बालसाहित्य, अनुवाद, अनुसन्धान, मातृभाषा साहित्य तथा डायस्पोरा साहित्य समावेश रहेका छन्।

अध्यक्ष थापाले राष्ट्रिय नेपाली साहित्य अवार्डले नेपाली साहित्यलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि थप पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। साथै साहित्य सिर्जना र अनुसन्धानमा सक्रिय सबै स्रष्टाहरूलाई सहभागी भई आफ्नो योगदानलाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न आग्रह गरेका छन्।
इच्छुक व्यक्तिहरूले आयोजकले उपलब्ध गराएको आवेदन फारम भरी आवश्यक विवरण र कागजातसहित आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया तथा अन्य जानकारीका लागि ९८५११९४२३९ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार वसन्त पञ्चमी को अवसरमा राष्ट्रिय नेपाली साहित्य अवार्ड–२०८३ को भव्य समारोह आयोजना गरी उत्कृष्ट स्रष्टाहरूलाई सम्मान गरिने कार्यक्रम रहेको छ।
