चौतारा, साउन ११ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित प्रधान कार्यालय रहेको नेत्रज्योति कृषि सहकारी संस्था लिमिटेड ले आफ्नो १४औँ स्थापना दिवस तथा वार्षिक साधारण सभा वृक्षारोपण कार्यक्रमसहित सम्पन्न गरेको छ।
स्थापना दिवसको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटा र वडा नं. १४ का अध्यक्ष उद्धव नेपालले पिपलको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए। थान्बारेगढी जन्मोत्सव पार्क, घमाने डाँडामा आयोजित वृक्षारोपण कार्यक्रममार्फत वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनको सन्देश प्रवाह गरिएको थियो।
नगरप्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष उद्धव नेपालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला बार इकाइ सिन्धुपाल्चोकका अध्यक्ष भूपेन्द्र थिङ, नेपाल राष्ट्रिय वन उपभोक्ता महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष जनक गिरी, जनमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर श्रेष्ठ तथा जनहित दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष बद्रीप्रसाद नेपाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सापकोटाले सहकारीहरू स्थानीय आर्थिक समृद्धिका महत्वपूर्ण आधार भएको उल्लेख गरे। कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा सहकारीको योगदान उल्लेखनीय रहेको उनले बताए। साथै, राष्ट्रिय कलाकार पहलमान स्वर्गीय लालबहादुर खाती र पण्डित विद्यापति सापकोटाको सालिक स्थापना गरिएको जन्मोत्सव पार्क नगर मात्र नभई राष्ट्रकै पहिचानका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे। उनले उत्पादन, उत्पादकत्व वृद्धि तथा बजार व्यवस्थापनमा सहकारीहरूले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

विशेष अतिथि वडा अध्यक्ष उद्धव नेपालले विगत १४ वर्षदेखि स्थानीय कृषि विकासमा नेत्रज्योति कृषि सहकारीले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। सदस्यहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि संस्थाले निरन्तर काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ नवीन कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।
जिल्ला बार इकाइका अध्यक्ष भूपेन्द्र थिङले सहकारी संस्थाले कानुनी सुशासन, पारदर्शिता र जवाफदेहितालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताए। नेपाल राष्ट्रिय वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष जनक गिरीले कृषि र वातावरण एकअर्काका परिपूरक भएकाले स्थापना दिवसको अवसरमा गरिएको वृक्षारोपण कार्यक्रमले सकारात्मक सन्देश दिएको बताए।
जनमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर श्रेष्ठले सहकारी संस्थाहरूबीचको सहकार्यले स्थानीय आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे। जनहित दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष बद्रीप्रसाद नेपालले उत्पादनमूलक क्षेत्रमा केन्द्रित सहकारीलाई प्रोत्साहन गर्न राज्यले विशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याए।
साधारण सभामा संस्थाका पदाधिकारीहरूले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन, आय–व्यय विवरण तथा आगामी आर्थिक वर्षका प्रस्तावित कार्यक्रम र योजनाहरू प्रस्तुत गरेका थिए। प्रतिवेदनमाथि सदस्यहरूबीच विस्तृत छलफल भएको थियो।
सदस्यहरूले संस्थाको कार्यसम्पादनप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै कृषि सम्बन्धी सीपमूलक तालिम, उत्पादनको बजारीकरण तथा सदस्यहरूको क्षमता विकासमा थप ध्यान दिन सुझाव दिएका थिए।
वि.सं. २०६९ मा स्थापना भएको नेत्रज्योति कृषि सहकारी संस्था स्थानीय कृषकलाई संगठित गर्दै कृषि उत्पादनमा आत्मनिर्भरता, सदस्यहरूको आयस्तर वृद्धि तथा सहकारी अभियानलाई सुदृढ बनाउन सक्रिय रहँदै आएको छ। संस्थाले समय–समयमा कृषि प्रविधि हस्तान्तरण, चेतनामूलक कार्यक्रम तथा विभिन्न सामुदायिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।
स्थापना दिवसको अवसरमा गरिएको पिपलको वृक्षारोपणलाई सहभागीहरूले वातावरण संरक्षण तथा भावी पुस्ताप्रतिको जिम्मेवारीसँग जोड्दै प्रशंसा गरेका थिए। जलवायु परिवर्तनको प्रभाव बढिरहेका बेला यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास पनि व्यक्त गरिएको थियो।
कार्यक्रममा संस्थाका शेयर सदस्य, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले आगामी दिनमा संस्थाले अझ प्रभावकारी, पारदर्शी र सदस्यकेन्द्रित सेवा प्रदान गर्दै जिल्लाकै उदाहरणीय सहकारीका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए।
संस्थाका अध्यक्ष कृष्णबहादुर नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँझो जमिनलाई उत्पादनशील बनाउँदै नमूना खेती गरेका कृषक रामबहादुर सार्की, अग्रणी कृषक चोकबहादुर बस्नेत तथा राम्चे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बलराम बस्नेतलाई सम्मान गरिएको थियो।
कार्यक्रममा संस्थाका सचिव धनकुमार नेपालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने व्यवस्थापक नेत्रबहादुर बस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए। अतिथिहरूलाई संस्थाकी कोषाध्यक्ष सीता बानियाँ र सदस्य रेखा नेपालले स्वागत गरेका थिए।
