अध्यात्म-चिन्तन
(आत्मयोग)
सबै मनुष्य र प्राणीहरूले चेष्टा गरेको देखिन्छ र त्यो चेष्टा निस्प्रयोजन होइन; कुनै ने कुनै अभीष्ट प्राप्तिका लागि हो । अभीष्ट के हो त भन्दा दु:खको आत्यन्तिक निवृत्ति र सुखको प्राप्ति । प्रत्येक चेष्टाको उद्देश्य सुखप्राप्ति नै हो भने आत्महत्या गर्न गैरहेको व्यक्तिको चेष्टा नि ? त्यो पनि दु:खबाट छुटकारा फलस्वरूप परम सुखको प्राप्तिका लागि नै हो । तर आत्महन्त्ताको बाटोलाई गलत किन भनियो भने आफूलाई नमारिकनै त्यो परमसुख स्वत: नै सबैकालमा उपलब्ध वस्तु हो । बुद्धले हेय, हेयहेतु, हान र हानोपाय गरेर “चत्वारि आर्यसत्यानि” का सिद्धान्तको प्रतिष्ठा गरेका थिए । हेय भनेको ‘दु:ख’ हो । हेयको अर्थ त्याग्ने लायकको कुरा हो । सबभन्दा त्याग्ने लायकको वस्तु ‘दु:ख’ हो । दु:ख त्यसै आउँदैन । नकमाएको दु:ख आउँदैन । त्यो क्रिया वा विचार जसबाट दु:ख निम्तिन्छ त्यसलाई बुद्धले ‘हेयहेतु’ संज्ञा दिएका छन् ।

बुद्धको वचन छ : दु:ख टिक्ने वस्तु हैन; यसको नाश निश्चित छ । दु:खनाशको नाम ‘हान’ हो । तर त्यसको यस्तो उपाय गर्नुपर्छ जसले गर्दा दु:ख सदाकालागि सकियोस् । त्यसको नाम ‘हानोपाय’ हो । दु:खको निवृत्तिकालागि ‘बोध’ एकमात्र उपाय हो । त्यस ‘बोध’मा पुग्नकालागि बुद्धले अष्टांगिक मार्गको बाटो देखाइदिएका छन् । ती आठ मार्ग यस प्रकार छन् :- १. सम्यक् दृष्टि २. सम्यक् संकल्प ३. सम्यक् वचन ४. सम्यक् कर्म ५. सम्यक् आजीविका ६. सम्यक् व्यायाम ७. सम्यक् स्मृति र ८. सम्यक् समाधि
अष्टांगिक मार्गका अन्तिम दुई सम्यक् स्मृति र सम्यक् समाधि बोधि, निर्वाण वा मोक्षका लागि नभई नहुने अनिवार्य शर्तहरू हुन् । प्रत्येक कर्ममा जे गरिँदैछ त्यसमा सम्यक् पूर्वक ध्यान दिएर गरिएको छ भने चित्तका वृत्तिहरू इत:स्तत छरिँदैनन् जो अन्तिम मार्गकालागि अति आवश्यक छ । समाधि शब्दको अर्थ सम्यक् पूर्वक आफ्नो साँच्चो स्वरूपमा स्थित हुनु हो जो मोक्ष, मुक्ति, बोधि, निर्वाण, ब्रह्मनिर्वाण आदि नामले पनि जानिन्छ । सम्यक् स्मृतिलाई नै सम्यक् ध्यान भनेर पनि जानिन्छ ।
पतंजलि मुनिले पनि योगकालागि अष्टाङ्ग मार्गको निर्देश गरेका छन् जो यस प्रकार छन् :- यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान एवं समाधि । यमभित्र सत्य, अहिंसा, अस्तेय, ब्रह्मचर्य एवं अपरिग्रह पर्छन् । नियमभित्र शौच, सन्तोष, तप, स्वाध्याय, ईश्वर-प्रणिधान पर्छन् । समाधि पनि १२ थरिका छन् : सवितर्क, निर्वितर्क, सविचार, निर्विचार, सविकल्प, निर्विकल्प, सम्प्रज्ञात, असम्प्रज्ञात, सबीज, निर्बीज, कैवल्य, धर्ममेघ समाधिहरू । यति मात्र कहाँ हो र ? विभिन्न प्रकारका सिद्धिहरूको वर्णन र तिनीहरूलाई प्राप्त गर्ने तरिका पातंजल, बौद्ध र जैन पद्धतिमा वर्णित छन् । तर प्राय: सिद्धिहरू मानसिक धरातल भन्दा माथि नजाने भएकाले तिनीहरूलाई आध्यात्मिक साधनामा विक्षेप भनेर वर्जित गरिएको छ ।
विचार : गोविन्द शर्मा।
