काठमाडौं । साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुला “आरुष–टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता–२०८२” को नतिजा सार्वजनिक गरिएको छ। प्रतियोगितामा खोटाङका कवि शुभचन्द्र राई प्रथम भएका छन्।
सार्वजनिक नतिजाअनुसार मकवानपुरका लसी घिमिरे दोस्रो तथा भरतपुरका परिवेश मुन्छे तेस्रो भएका छन्। त्यसैगरी उत्कृष्ट दुईमा सिन्धुलीका रमेश दाहाल र काठमाडौंकी संगीता खरेल छनोट भएका छन्।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली द्वारा जारी प्रेस विज्ञप्तिअनुसार वरिष्ठ समालोचक प्रमोद प्रधान को संयोजकत्वमा गठित निर्णायक समितिले प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक गरेको हो।
प्रतियोगितामा प्रथम हुनेलाई रु. ३०,०००, द्वितीयलाई रु. २०,००० र तृतीयलाई रु. १०,००० नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट २५ कविलाई पनि प्रमाणपत्रद्वारा सम्मान गरिने संघले जनाएको छ।
यस प्रतियोगितामा देश–विदेशबाट १०८ वटा कविता प्राप्त भएका थिए। तीमध्ये उत्कृष्ट २५ कविता यसअघि नै सार्वजनिक गरिएको थियो। उत्कृष्ट सूचीमा ‘एकलव्यको दोस्रो प्रहार’ शीर्षक कविताबाट शुभचन्द्र राई प्रथम स्थान हासिल गर्न सफल भएका हुन्।
प्रतियोगिताका लागि अमेरिकामा बसोबास गर्दै आएकी समाजसेवी **सपना राउत**ले पुरस्कार रकम प्रायोजन गरेकी हुन्।
प्रतियोगितामा समसामयिक विषयमा आधारित, अप्रकाशित कविता मात्र स्वीकार गरिएको थियो। साथै सहभागीको उमेर ४० वर्ष ननाघेको हुनुपर्ने सर्त राखिएको थियो। कविता बुझाउने अन्तिम मिति २०८२ पुस मसान्त तोकिएको थियो।
साहित्यिक पत्रकार संघले यसअघि पनि राष्ट्रियस्तरको निबन्ध प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ।
