डीआर कङ्गोमा इबोला नियन्त्रणबाहिर, २४६ जनाको मृत्यु
किन्शासा । लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा इबोला संक्रमण तीव्र रूपमा फैलिरहेको भन्दै अन्तर्राष्ट्रिय चिकित्सा संस्था मेडेसाँ सान फ्रन्टियर्स (एमएसएफ) ले अवस्थालाई “गम्भीर चिन्ताजनक” भनेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इबोला प्रकोप घोषणा गरेको दुई सातापछि एमएसएफका उपनिर्देशक डा. एलन गोन्जालेसले हालसम्म यति छोटो अवधिमा यति धेरै संक्रमित फेला परेको उदाहरण नरहेको बताएका छन्।
पूर्वी डीआर कङ्गोको इतुरी प्रान्तमा संक्रमण सबैभन्दा बढी फैलिएको छ। संक्रमण नियन्त्रणका प्रयासको अनुगमन गर्न डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयसस पनि उक्त क्षेत्रमा पुगेका छन्।
हाल डीआर कङ्गोमा इबोलाका १ हजारभन्दा बढी शंकास्पद संक्रमित भेटिएका छन् भने कम्तीमा २४६ जनाको मृत्यु भइसकेको छ। छिमेकी युगान्डामा पनि ९ जना संक्रमित पुष्टि भएका छन् र एक जनाको मृत्यु भएको छ।

शनिबार जारी वक्तव्यमा डा. गोन्जालेसले भने, “इबोला प्रकोप घोषणा भएको दुई सातापछि स्थिति अत्यन्तै चिन्ताजनक बनेको छ। प्रकोपको घोषणा भएपछि यति छिटो यति धेरै संक्रमित देखिएको यो पहिलो पटक हो।”
उनले हालसम्म महामारीको वास्तविक आकार र गम्भीरता पूर्ण रूपमा थाहा नभएको उल्लेख गर्दै दैनिक रूपमा नयाँ शंकास्पद संक्रमित थपिइरहेको तर सयौं नमुना परीक्षण हुन बाँकी रहेको बताए।
एमएसएफले महामारी नियन्त्रणका लागि थप स्रोत, परीक्षण क्षमता र स्वास्थ्यकर्मी परिचालन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ।
स्रोत : BBC News
