सिराहा । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडले कृषि क्षेत्रको व्यावसायिकीकरण तथा किसानका समस्या र सम्भावनाबारे छलफल गर्न सिराहाको गोलबजारस्थित होटल पावन मिथिलामा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीका अध्यक्ष प्रवीणकुमार लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक चन्द्रमोहन श्याङ्वाले स्वागत मन्तव्य व्यक्त गर्दै किसान, कृषि व्यवसायी तथा सरोकारवालाहरूलाई कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला उपसभापति दिलीपकुमार लामा**ले कृषि क्षेत्रको रूपान्तरणका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रम प्रभावकारी हुने बताउँदै किसानलाई आधुनिक र व्यावसायिक कृषि प्रणालीतर्फ उन्मुख गराउन आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा पशु विज्ञ जगत यादवले परम्परागत खेती प्रणालीबाट माथि उठेर व्यावसायिक कृषि अपनाउनुपर्ने आवश्यकता औँल्याए। उनले कृषि व्यवसायलाई आधुनिक, प्रतिस्पर्धी र नाफामूलक बनाउन अपनाउनुपर्ने उपायबारे किसानहरूलाई जानकारी गराएका थिए।
त्यसैगरी कम्पनीका सञ्चालक प्रदीप यादवले एसियन स्मार्ट एग्रोका आगामी योजना तथा किसान लक्षित कार्यक्रमबारे प्रकाश पार्दै कम्पनी किसानको हित र कृषि क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए।
अन्तरक्रियाका क्रममा किसानहरूले कृषि उत्पादनको बजारीकरण, बाली बीमा, शीत भण्डार (कोल्ड स्टोर) स्थापना तथा सहुलियतपूर्ण कृषि कर्जामा पहुँच विस्तारजस्ता विषयमा आफ्ना समस्या र सुझाव राखेका थिए। उनीहरूले उत्पादित वस्तुको उचित मूल्य सुनिश्चित गर्न व्यवस्थित बजार प्रणाली विकास गर्न तथा सरकार र बैंकबाट उपलब्ध अनुदान तथा कृषि कर्जामा पहुँच सहज बनाउन कम्पनीले समन्वयकारी भूमिका खेल्नुपर्ने माग समेत गरेका थिए।
कार्यक्रममा सहभागीहरूले यस्ता अन्तरक्रियाले किसानका समस्या पहिचान गर्न तथा कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
