२०८२ असार २६, गते नेपाल पूर्व प्रहरी कलाकार संघले गुरु पूर्णिमाको अवसरमा आज संघको प्रथम वार्षिकोत्सब मनायो । सो अवसरमा विभिन्न सर्जकहरुलाई पनि सम्मान गरियो ।
वरिष्ठ सर्जकहरु चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुव हाडाको नाममा स्थापना गरिएको सम्मान पुरस्कारहरु नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौमा समर्पण गरियो ।

सो कार्यक्रममा चेतन कार्की गीति वाङ्मय सम्मान पुरस्कारबाट गीतकार रमण घिमिरे, गोपाल योञ्जन सङ्गीत साधना पुरस्कारबाट सङ्गीतकार प्रकाश गुरुङ, नृत्य साधना सम्मान पुरस्कारबाट नृत्यकार एवं कोरियोग्राफर वसन्त श्रेष्ठ र राजपाल थापा ध्रुब हाडाको हाडा एण्ड पाल हास्य सम्मानबाट हास्य अभिनेत्री वसुन्धरा भुषाल सम्मानित हुनु भयो ।

सो सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका आइजिपी दिपक थापा, वरिष्ठ कलाकारहरु हरिहर शर्मा, मदनकृष्ण श्रेष्ठ, भुवनचन्द थापा, चैत देवी, गौरी मल्ल र पूर्व आइजिपी मोतीलाल बोहरा लगायतले संयुक्त रूपमा प्रदान गर्नु भयो ।
कार्यक्रममा संघका सल्लाहकार चर्चित कलाकार मिथिला शर्मा बोहराले गुरु दक्षिणा स्वरूप स्थापित सम्मानको बारेमा र आफ्ना गुरुहरूका बारे आफ्नो मन्तव्य राख्नु भयो ।
प्रमुख अतिथि आइजिपी दिपक थापाले प्रहरी कलाकारले गरेको यो गुरुभक्ति र सम्मानको प्रशंसायोग्य रहेको बताउनु भयो । उहाँले संस्थालाई प्रहरी संगठन र आफ्नो निजी वचतबाट कोषको लागि रकम प्रदान गर्ने प्रतिबद्धता पनि प्रकट गर्नु भयो ।

सोही कार्यक्रममा सम्मानितका तर्फबाट वरिष्ठ कलाकार वसुन्धरा भुषालले मन्तव्य राख्नु भयो ।
कार्यक्रममा विभिन्न गीत, नाच, कमेडी प्रहसन प्रस्तुत गरिएको थियो ।

