काठमाडौं। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा काठमाडौंमा जापानी खानाको स्वाद र सांस्कृतिक परम्परा झल्काउने उद्देश्यले जापानी फुड फेस्टिभल आयोजना गरिएको छ।
होक्काइडो ग्रुप र र्याडिसन काठमाडौँको सहकार्यमा लाजिम्पाटस्थित र्याडिसन काठमाडौँ परिसरको होक्काइडो एसियन कुजिनमा नोभेम्बर ३ देखि ९, २०२६ सम्म सञ्चालन भइरहेको फेस्टिभलले जापानी खानाको परम्परा, पाककला र सांस्कृतिक अभ्यासलाई नेपालीमाझ प्रस्तुत गरेको छ।
हरेक दिन साँझ ५ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने कार्यक्रममा जापानी डिनर बुफे, अनलिमिटेड सुसी, प्रत्यक्ष पाककला प्रदर्शन तथा सांस्कृतिक गतिविधि समावेश गरिएका छन्। प्रतिव्यक्ति ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको बुफेमा एउटा सफ्ट ड्रिंक, कर तथा सेवा शुल्कसमेत समावेश छन्। आयोजकका अनुसार दैनिक ७० जनाका लागि मात्र सहभागिता सीमित गरिएको छ।
फेस्टिभलको मुख्य आकर्षण जापानबाट आएका सुसी कलाकार काजुयुकी हायाशी (Kazuyuki Hayashi) को प्रत्यक्ष पाककला प्रस्तुति रहेको छ। उनले आगन्तुककै अगाडि सुसी तयार गरेर जापानी पाककलाको सीप, शैली र परम्परालाई प्रस्तुत गरिरहेका छन्।
फेस्टिभलमा निगिरी सुसी, होसोमाकी रोल, तेप्पान्याकीलगायत करिब ४८ परिकारलाई नौ फरक विधामा प्रस्तुत गरिएको छ। यसका साथै जापानी क्यालिग्राफी र परम्परागत माचा चिया बनाउने विधिको प्रदर्शनले कार्यक्रमलाई खानाको स्वादमा मात्र सीमित नराखी सांस्कृतिक आदानप्रदानको अवसरसमेत बनाएको छ।
यसै वर्ष होक्काइडो ग्रुपले आफ्नो स्थापनाको सातौँ वार्षिकोत्सव पनि मनाइरहेको छ। सन् २०१९ मा नेपालमा व्यावसायिक यात्रा सुरु गरेको यस समूहका संस्थापक अर्जुन अधिकारीले जापानमा प्राप्त आतिथ्य सेवा र पाककलासम्बन्धी अनुभवलाई नेपालमा विस्तार गर्ने उद्देश्यले व्यवसाय सुरु गरेका हुन्।
पार्क भिलेज रिसोर्टबाट सुरु भएको समूहको व्यावसायिक यात्रा अहिले काठमाडौं उपत्यका, पोखरा र चितवनसम्म विस्तार भएको छ। समूहका अनुसार हाल यसले १० वटा रेस्टुरेन्ट तथा आउटलेट सञ्चालन गरिरहेको छ।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ र आफ्नो स्थापनाको सातौँ वार्षिकोत्सवलाई जोडेर आयोजना गरिएको यो फेस्टिभलले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ। जापानी खानाको स्वाद, पाककला र परम्परालाई एउटै स्थानमा प्रस्तुत गरिएको यस कार्यक्रमले नेपालको आतिथ्य क्षेत्रमा अन्तर्राष्ट्रिय खानाको अनुभवलाई समेत विविधता दिएको छ।
कार्यक्रमबारे थप जानकारी तथा टेबल आरक्षणका लागि +९७७-९८०१०११३०२ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
