नेपालगन्ज। चर्चित गायक सुनिल सिंह ठकुरीको नयाँ गीत ‘ओ मेरा छोर्याट्टि’ सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने क्रममा आयोजित कार्यक्रममा उपस्थित दर्शक तथा सहभागीहरू गीतको धुनमा झुमेका थिए।
बास नेपालको समन्वयमा आज नेपालगन्जमा आयोजित कार्यक्रममा गीतको औपचारिक सार्वजनिकिकरणसँगै गायक ठकुरीले स्टेजमै गीतको लाइभ प्रस्तुति दिएका थिए। उनले गीत गाइरहँदा म्युजिक भिडियोमा अभिनय गरेकी मोडल करिष्मा शाही ठकुरी पनि स्टेजमा पुगेर नृत्य गर्न थालेपछि कार्यक्रम थप मनोरञ्जनात्मक बनेको थियो। उपस्थित दर्शकहरूले पनि गीतको प्रस्तुतिमा रमाउँदै साथ दिएका थिए।
पश्चिम नेपालको स्थानीय भाषामा तयार पारिएको उक्त गीतको सार्वजनिकिकरण वरिष्ठ संगीतकार एवं कार्यक्रमका प्रमुख अतिथि ओमप्रकाश शर्माले गरेका थिए।
गीतको लाइभ प्रस्तुति सम्पन्न भएपछि गायक ठकुरीले तिहारको अवसरमा आयोजित सार्वजनिकिकरण कार्यक्रममा उपस्थित सबैप्रति आभार व्यक्त गरे।

कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए। प्रमुख अतिथि शर्माले नयाँ प्रतिभाहरूको गीत तथा संगीतप्रतिको लगाव प्रशंसनीय रहेको उल्लेख गर्दै सार्वजनिक गीतले सबैको मन जित्न सफल होस् भन्ने शुभकामना व्यक्त गरे।
त्यसैगरी, प्राज्ञ एवं बास नेपालका सल्लाहकार किरण आचार्यले गीत र म्युजिक भिडियोले पश्चिम नेपालको मौलिक पहिचान तथा संस्कृतिलाई उजागर गरेको बताइन्। बास नेपालका अर्का सल्लाहकार रुद्रप्रसाद तिमिल्सिनाले सुशासन र पारदर्शिताका क्षेत्रमा क्रियाशील संस्थाले स्थानीय कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा समेत भूमिका खेलेकोमा खुसी व्यक्त गरे।

अछामी सेवा समाजका अध्यक्ष पुष्कर खड्काले सुदूरपश्चिमको कला, भाषा र संस्कृतिलाई समेटिएको गीतको सफलताको शुभकामना दिए।
बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका एक सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो। गीत सार्वजनिकिकरणसँगै कार्यक्रममा तिहारको शुभकामना आदानप्रदानसमेत गरिएको थियो।

