दैलेख।दशैं संगै जिल्लामा आवत-जावत र भीड-भाड बाक्लिएसँगै दैलेखमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा तीब्ररुपमा फैलिन थालेको छ ।पछिल्लो तीन दिनको तथ्यांक हेर्दा संक्रमणको दर बढ्दो देखिएको छ ।पीसीआर परीक्षणका लागि संकलन गरिएकोमा शत प्रतिशतमा संक्रमण पुष्टि हुन थालेको छ ।
गत मंगलबार पीसीआर परीक्षणका लागि संकलन गरिएका स्वाबमध्ये ६० प्रतिशतलाई संक्रमण पुष्टि भएको थियो । यो संख्या बढेर बुधबार ८० प्रतिशतलाई संक्रमण पुष्टि भएको थियो भने बिहीबार शत प्रतिशतलाई संक्रमण पुष्टि भएको दैलेख अस्पताल पीसीआर प्रयोगशालाले जानकारी दिएको छ । बिहीबार १२ जनाको मात्रै स्वाब परीक्षण गरिएको थियो । स्वाब परीक्षण गरिएको १२ जनामै संक्रमण पुष्टि भएको दैलेख अस्पतालले जानकारी दिएको छ ।
जिल्लामा संक्रमणको जोखिम उच्च रहेको समुदायस्तरमा परीक्षण गर्ने हो भने ७० प्रतिशत नागरिकमा संक्रमण देखिनसक्ने अस्पतालले जनाएको छ ।
कडा ज्वरो आउने, खोकी लाग्ने र स्वास फेर्न गाह्रो भएर अक्सिजन दिनुपर्ने अवस्थाका बिरामी बढ्दै गएको दैलेख अस्पताल स्रोतले जनाएको छ। जिल्ला सदरमुकाममा जनप्रतिनीधि, स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी, व्यवसायीलाई कोरोना संक्रमण बढि देखिएको छ ।
त्यस्तै, दैलेखबाट सञ्चालन हुने सार्वजनिक सवारी साधनमा कुनैपनि मापदण्ड लागु हुन सकेको छैन् । सवारी साधानमा सुरक्षा मापदण्डहरुको पालना भए नभएको बारे अनुगमन समेत हुन सकेको छैन् ।
