असोज ९,काठमाडौं । खेमबहादुर घर्ती शुक्रबार टिकट काटेर नारायणहिटी संग्रहालयभित्र प्रवेश गरे ।
राजदरबारभित्र प्रवेश गरेपछि उनी श्रीपेच राखेको सोकेश नजिकै पुगे। त्यसपछि उनको मानसपटालमा एकाएक राजा हुने सपना आउँछ ।
उनले मुक्काले हिर्काएर श्रीपेच राख्ने सोकेस नजिकैको खुकुरी राखेको सिसा फुटाए र सिसाले हात काट्यो । । त्यसपछि खुकुरीको सिसामा हिर्काएर श्रीपेचको सोकेशतिर अघि बढे सिसा फुटाएपनि उनले खुकुरी निकाल्न असफल भएका थिए।
अघि बढेर श्रीपेचको सोकेशमा प्रहार गर्न खोज्दा नेपाली सेनाका सुरक्षा अधिकारीले उनलाई नियन्त्रणमा लियो ।
काठमाडौंको म्हैपी बस्ने घर्ती अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् । २५ वर्षीय घर्तीले के कारणले श्रीपेच चोर्ने प्रयास गरे भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीसँग ‘म राजा बन्छु, मलाई श्रीपेच लगाउनु छ भन्ने सोचेँ’ भनेर बयान दिएका छन् ।
उनले अनुसन्धानमा खटिएका टोलीलाई श्रीपेच लगाएर नारायणहिटीमा बसेर शासन चलाउने सोच आएको बताएका छन् । हाल प्रहरीको सम्पर्कमा उनका परिवारका सदस्य पनि पुगेका छन् ।
परिवारले उनी मानसिक समस्या रहेको र नियमित औषधी सेवन गरिरहेको प्रहरीलाई जानकारी दिएका छन् । तैपनि, प्रहरीले अन्य कारणबारे पनि अनुसन्धान गरिरहेको छ ।
साथै, घर्तीविरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड र सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ ।
खबर श्रोत : न्युज २४
