रक्सीले मातेका असई नै ‘मापसे’ चेक गर्दै !

मोरङ – मापसे (मादक पदार्थ सेवन) गरेर ड्युटी गरिरहेको अवस्थामा भेटिएका प्रहरी सहायक निरीक्षक(असई)माथि कारबाही प्रक्रिया अघि बढेको छ । विराटनगरको बरगाछी प्रहरी चौकीमा कार्यरत असई ताराबहादुर बस्नेतलाई ड्युटीमा मापसे गरेको अवस्थामा भेटिएको हो । ड्युटीमा आफै मादक पदार्थ सेवन गरेर सवारी साधनका चालकको मापसे चेक गरिरहेको पाइएपछि जिल्ला प्रहरी कार्यालय मोरङमा तानेर उनीमाथि कारबाही अघि बढाउन अनुसन्धान थालिएको छ । विराटनगर महानगरपालिका–४ खारजीमा बिहीबार राति मापसे चेकमा खटिएका असई बस्नेतलाई नियन्त्रणमा लिन मोरङका डीएसपी राजकुमार खिँउजुको टोली पुगेको थियो । कोशी अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट बस्नेतले मापसे सेवन गरेको पुष्टि भएको छ ।
डीएसपी खिँउजुले जिल्ला तानिएका बस्नेतमाथि आवश्यक अनुसन्धानपछि कारबाही अघि बढाइने बताउनुभयो । खिँउजु आफै घटनास्थलमा पुग्दा प्रहरीको पोशाक लगाएर ड्युटीमा खटिए पनि रक्सीको नसामा लट्ठ रहेका बस्नेत सडकमा गुड्ने सवारी साधनका चालकले मापसे गरे–नगरेको बारेमा चेकचाहिँ गरिरहेका थिए । मापसे चेकका क्रममा सवारी चालकसँग विवाद गरेपछि जिल्ला प्रहरी कार्यालयमा सवारी चालकहरुले ड्युटीमा रहेका असईले मापसे गरेको जानकारी गराएका थिए । त्यसपछि घटना बाहिरिएको हो । शुक्रबार दिउँसोसम्म उनको ठाउँमा बरगाछी चौकीमा कसैलाई पठाइएको छैन । जिल्ला प्रहरी कार्यालय मोरङले तीन दिनअघि मात्रै बस्नेतलाई बरगाछी चौकीको इन्चार्ज तोकेर पठाइएको थियो । अन्तिम अपडेट: मंसिर ६, २०७६
साभार उज्यालो अनलाइन खबर