सरकार र विप्लव बीच तीन बुँदे सहमति,राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने
सरकार र विप्लव बीच तीन बुँदे सहमति,राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने

काठमाण्डाै – सरकार र नेत्र विक्रम चन्द विप्लवबीच तीन बुँदे सहमति भएको छ । बालुवाटारमा भएको वार्ताका क्रममा आज सहमति गरेको हो ।
विप्लवले आफ्ना सबै राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमतिमा उल्लेख छ । सरकारकातर्फबाट विप्लवमाथि लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेका विप्लवका सम्पूर्ण कार्यकर्ता रिहाइ र मुद्दा खारेजी गर्ने सहमति रहेको छन् ।
सरकार र विप्लव सहमतिको विस्तृत विवरण भोलि दिउँसो २ बजे सार्वजनिक गरिने भएको छ । आज भने संयुक्त विज्ञप्ति निकालेर सहमति भएको बारे जानकारी दिने बताएको छ ।सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले विज्ञप्तिमा हस्ताक्षर गर्नु भएको छ ।
हिजो पहिलो चरणको औपचारिक वार्ता सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच भएको थियो । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय सरकारी वार्ता टोली रहेको थिए । सरकारसँग वार्ताका लागि सर्त र एजेण्डासहित खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूहकाे वार्ता टोली गठन भएको छ । सरकारले विप्लव समूहलाइ २०७५ सालको फागुन २८ गतेदेखि विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।