अस्ट्रेलिया र नेपालबीच व्यावसायिक, सामाजिक तथा सामुदायिक सम्बन्ध विस्तारमा योगदान पुर्याउँदै आएका नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता पिजे श्रेष्ठले सन् २०२६ को प्रतिष्ठित ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’ प्राप्त गरेका छन्।
अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (ACU) ले आफ्ना पूर्वविद्यार्थी श्रेष्ठलाई विश्वव्यापी सम्बन्ध विस्तार, अन्तरसांस्कृतिक समझदारी र अन्तर्राष्ट्रिय सहकार्यमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो।
डिजिटल कन्सल्टिङ भेन्चर्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) श्रेष्ठले व्यवसाय, सार्वजनिक जीवन र सामुदायिक सेवामार्फत अस्ट्रेलिया र नेपालबीचको सम्बन्धलाई थप सुदृढ बनाउन भूमिका खेल्दै आएका छन्। ACU को विश्वभर १ लाख ५५ हजारभन्दा बढी पूर्वविद्यार्थीको सञ्जाल रहेको छ।
पुरस्कार घोषणा गर्दै विश्वविद्यालयका उपकुलपति तथा अध्यक्ष प्राध्यापक ज्लाट्को स्क्रिबिसले प्रतिभा र दृढ संकल्पलाई समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धतासँग जोड्दा के सम्भव हुन्छ भन्ने कुरा विश्वविद्यालयका पूर्वविद्यार्थीले देखाएको बताएका छन्।
श्रेष्ठको सामुदायिक योगदानले उनलाई अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित गभर्नमेन्ट हाउससम्म पुर्याएको छ। सन् २०२४ अगस्ट १५ मा अस्ट्रेलियाकी गभर्नर जनरल साम मोस्टिन एसीले उनलाई भेट गरेकी थिइन्।
सन् २०१९ मा श्रेष्ठ तत्कालीन प्रधानमन्त्री स्कट मोरिसनको निर्वाचन टोलीअन्तर्गत सत्तारूढ लिबरल पार्टीबाट अस्ट्रेलियाको संघीय निर्वाचनमा उम्मेदवार बनेका थिए। उनी प्रमुख अस्ट्रेलियाली राजनीतिक दलबाट संघीय निर्वाचनमा उम्मेदवारी दिने नेपाली मूलका पहिलो व्यक्ति बनेको समाचारमा उल्लेख छ।
यसअघि उनी ‘४० अन्डर ४० मोस्ट इन्फ्लुएन्सियल एसियन–अस्ट्रेलियन अवार्ड’ कार्यक्रममा सन् २०२४ का लागि सामुदायिक तथा पैरवी (Community and Advocacy) विधातर्फ अन्तिम प्रतिस्पर्धी (Finalist) बनेका थिए। एसियालिङ्क, मेलबर्न विश्वविद्यालय र जोन्सन पार्टनर्सको पहलमा आयोजना हुने उक्त कार्यक्रम अहिले ‘एसियन अस्ट्रेलियन लिडरसिप अवार्ड’ का रूपमा परिचित छ। सिड्नीमा आयोजित पुरस्कार समारोहमा अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वोङको समेत उपस्थिति थियो।
श्रेष्ठले सन् २०१६ मा ‘मिस्टर नेपाल ओसियाना’ को उपाधिसमेत जितेका थिए। युवा तथा उद्यमीहरूलाई मार्गदर्शन गर्ने, व्यवसाय, सरकार र सामुदायिक नेतृत्वबीच सहकार्य बढाउने तथा अस्ट्रेलिया र नेपालबीच सम्बन्ध विस्तार गर्ने काममा उनी सक्रिय रहँदै आएका छन्।
सन् २०२६ मा नेपालमा आएको बाढीका क्रममा पनि श्रेष्ठले प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहतका लागि आवश्यक स्रोतसाधन समन्वय गर्न र अस्ट्रेलियामा रहेका नेपाली परिवार तथा सहयोगीहरूसँग सम्पर्क कायम राख्न भूमिका खेलेका थिए। उनको उक्त योगदानलाई अस्ट्रेलियाली सिनेटर एन्ड्र्यु ब्रागले सेप्टेम्बर ८ मा अस्ट्रेलियाको सिनेटमा सम्बोधन गर्दै उल्लेख गरेका थिए।
त्यसैगरी, न्यु साउथ वेल्स राज्यको विधानसभामा सांसद मार्क काउरेले सेप्टेम्बर १५ मा नेपालमा आएको बाढीसम्बन्धी छलफलका क्रममा श्रेष्ठलगायत नेपाली समुदायका अगुवाहरूले अस्ट्रेलिया र नेपालमा पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए।
सन् २०१५ मा ACU बाट वाणिज्यशास्त्रमा स्नातक गरेका श्रेष्ठले विश्वविद्यालयका प्राध्यापक तथा करियर टिमले आफ्नो क्षमता पहिचान गर्न र जीवनको सही दिशा तय गर्न सहयोग गरेको बताएका छन्।
ACU को प्रकाशन ‘इम्प्याक्ट’ सँगको कुराकानीमा उनले भनेका छन्, “मैले आफूमाथि विश्वास गर्नुअघि नै उहाँहरूले ममाथि विश्वास गर्नुभएको थियो।”
श्रेष्ठलाई प्राप्त यो सम्मानले अस्ट्रेलियामा नेपाली समुदायको पहिचान, नेतृत्व र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीहरूको योगदानलाई थप उजागर गरेको छ।
