काठमाडौं । सबै नेपालीलाई जग्गाको मालिक बनाउने अभियानअन्तर्गत नेपाल सरकारले भूमिहीनका लागि लालपुर्जा वितरण गर्ने भएको छ ।स्थानीय तहसँगको समन्वय र सहकार्यमा लालपुर्जा वितरणका लागि सरकारले विभिन्न स्थानीय तहसँग सम्झौता गरिसकेको छ ।
भूमिसम्बन्धी समस्याको समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिहीन नेपालीलाई जग्गाधनीको लालपुर्जा वितरण गरिने प्रक्रिया अगाडि बढाइएको बताउँदै तत्काल करिब एक लाख भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्ने गरी तयारी भइरहेको अनलाइन खबरलाई जानकारी दिनु भयो।
आर्थिक चालू वर्षदेखि नै लालपुर्जा वितरण गरिने बताउँदै उनले अहिलेसम्म सुुदूरपश्चिमका सत्र १७ पालिकासहित मुलुकभरिका २०० दुई सयवटा पालिकासँग सम्झौतासमेत भइसकेको जानकारी दिनुभएको छ ।
अन्य पालिकाहरुबाट पनि भूमिहीनको लगत सङ्कलन भइरहेको उहाले जानकारी दिनुभयो। पालिकाहरूबाट लगत सङ्कलनसँगै मुलुकभरिका भूमिहीनको यकिन तथ्याङ्क समेत आउने छ ।
सुदूरपश्चिमबाटै भूमिहीनका लागि लालपुर्जा वितरण सुरु हुनेछ। भूमिसम्बन्धी समस्या समाधान आयोगका अनुसार लालपुर्जा वितरणका लागि आयोग र कैलालीको धनगढी उपमहानगरपालिकाबीच सम्झौता भइसकेको छ । यसैगरी गोदावरी, गौरीगङ््गा, घोडाघोडी, टीकापुर, भजनी, लम्कीचुहा नगरपालिकासँग आयोगको सम्झौता भइसकेको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।
