शैलुङ, दोलखा | च्छोरोल्पा खबर
धार्मिक आस्था, संस्कार र प्राकृतिक सौन्दर्यले भरिएको दोलखा जिल्लाको शैलुङ गाउँपालिका–०८ मा अवस्थित पवित्र स्थल सर्वशक्तिमान भीमसेन तरवार शिलामा २६ फिट अग्लो त्रिशूल विधिपूर्वक अर्पण गरिएको छ।
उक्त ऐतिहासिक एवं धार्मिक कार्य बागमती बोर्डिङ स्कुल, सुकेधार–काठमाडौंका संचालक तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैदेशिक विभागका विज्ञ, समाजसेवी श्री असबिन सिटौलाज्यूको विशेष पहलमा सम्पन्न भएको हो।
यसअघि पनि सिटौलाज्यूले सोही स्थलमा ढलोटको घन्टा अर्पण गरी, एक विशेष कार्यक्रममार्फत वरिष्ठ समाजसेवी तथा गीतकार शोभित उप्रेती र वरिष्ठ कलाकार मदन दास श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो।
यो पटक चढाइएको २६ फिट अग्लो त्रिशूलको माथिल्लो भागबाट तस्वीर खिच्दा पृष्ठभूमिमा गौरीशंकर हिमाल, त्रिशूल र डमरूको प्राकृतिक मिलन देखिनु, स्थलको धार्मिक, पर्यटकीय र सांस्कृतिक गरिमालाई थप गहिरो बनाएको छ।
च्छोरोल्पा खबरसँगको संवादमा सिटौलाज्यूले भावुक हुँदै भन्नुभयोः
“म काठमाडौंमा जन्मिएको भए पनि दोलखा मेरो मावली हो। सैलुङजस्तो पवित्र तपोभूमिमा यो कार्य ठूलो होइन, आस्थाको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनका लागि गरिएको सानो योगदान हो। दोलखा मलाई सधैँ आफ्नै लाग्छ।”
यस पुण्य कार्यप्रति शैलुङ–दोलखा क्षेत्रका जनसमुदाय, शैलुङ पर्यटन तथा कालापानी बजार टोल विकास संस्था, वडाध्यक्ष धन बहादुर तामाङ (०८), पालिका अध्यक्ष श्री बाबु श्रेष्ठ, सैलुङ युवा सञ्जाल, वडाबासी एवं पालिकाबासीको तर्फबाट सिटौलाज्यूप्रति हार्दिक धन्यवाद, कृतज्ञता र सम्मान व्यक्त गरिएको छ।
स्थानीय सामाजिक अभियन्ता तथा संस्था प्रतिनिधिहरूले पनि यस कार्यले सैलुङ क्षेत्रको धार्मिक पर्यटन, सांस्कृतिक पहिचान र आस्थाको विकासमा सशक्त ऊर्जा थपेको बताउँदै आगामी दिनमा यस्ता योगदानहरूलाई संस्थागत सहयोगको रूपमा अगाडि बढाइने बताएका छन्।

