रमिला योन्जन
नेपाल रेडक्रस सोसाइटीद्धारा पूर्वअध्यक्ष संजीव थापाविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा मुद्दा दर्ता गरेको छ।
भक्तपुरको दुधपाटीमा चिनियाँ रेडक्रसको सहयोगमा केन्द्रीय गोदाम घर निर्माण गर्न खरिद गरिएको ५ रोपनी १३ आना ३ पैसा (९३ आना ३ पैसा) जग्गामा ठूलो आर्थिक हिनामिना भएको छानविनको निष्कर्षपछि थापाविरुद्ध सिआइबीमा मुद्दा दायर गरेको हो ।
थापा सँगै जग्गा दलालीमा संलग्न भक्तपुर नगरपालिका वडा नम्बर ४ निवासी राजेश देशेमरु विरुद्ध पनि मुद्दा दर्ता गरेको स्रोतले जनाएको छ ।
थापा नेतृत्वको कार्य समिति भ्रष्टाचारमा संलग्न भएको देखिएपछि गत साउन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले उनलाई बर्खास्त गरी डा. नेत्र तिमिल्सिनाको संयोजकत्वमा ३३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको थियो ।
उक्त कार्य समितिले जग्गाको यथार्थ विवरण पत्ता लगाउन सहकोषाध्यक्ष होमप्रसाद पाठकको संयोजकत्वमा छानविन समिति बनाएको थियो । समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट अनुमति लिएर अमिन लगेर जग्गाको नापजाँच गरेको थियो ।
छानविन समिति संयोजक एवं रेडक्रस सोसाइटीका सह–कोषाध्यक्ष पाठकका अनुसार अमिन लगेर जग्गाको नापजाँच गर्दा ६ आना ३ दाम कम भेटिएको हो ।
जग्गा नै कम भेटिएपछि गत मसिर २६ गते गृह मन्त्रालयमार्फत सिआइबीमा ठगी मुद्दा दर्ता गराएको हो ।
उक्त जग्गा थापा नेतृत्वको कार्य समितिले ६ करोड ३२ लाख ८१ हजार २ सय ५० रुपैयामा उक्त जग्गा खरिद गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको छानविनमा देशेमरुले जग्गा खोजि दिए वापत कमिसन मात्र एक करोड ९२ लाख रुपैयाँ लिएको बयान दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत एक वर्ष अघि नै थापा बिरुद्ध सिआइबीमा ठगी मुद्दा दर्ता गरेको थियो ।
सिआइबीले ठगी प्रमाणित नभएको भन्दै तामेलीमा राखेको थियो
०७२ बैशाखको विनासकारी भूकम्पपछि नेपाल रेडक्रसलाई केन्द्रीय स्तरमा ठूलो गोदाम घर आवश्यक परेको थियो ।
गोदाम घर नभएकाले दाताहरूबाट प्राप्त सहयोग सामग्री विमानस्थलमै अलपत्र परेको थियो ।
विमानको उडान र अवतरणमा सो कारण समस्या समेत आईपरेको थियो । चिनिया रेडक्रसले नेपाल रेडक्रसलाई गोदाम घर निर्माण गरिदिने वचन दिएको थियो ।
त्यसका लागि हतार–हतार जग्गा खरिद प्रक्रिया अगाडि बढाएको थियो । २२ भदौ ०७२ मा जग्गाको प्रस्ताव माग्दै पत्रिकामा सूचना प्रकाशित गराएको थियो ।
स्रोतका अनुसार रेडक्रसका पदाधिकारीले पत्रिकामा विज्ञापन गरे लगतै बदनियत सुरु गरेको रहेछ ।
जग्गाको लागि बोलपत्र आह्वान गर्दा ५, १०, १५ वा २० किमिको दूरी किटान गरिन्छ तर रेडक्रसले १६.५ किमि आसपास मुल सडकले छोएको जग्गा चाहिने बोलपत्र आव्हान गरेको थियो ।
मिलेमतोमा जग्गा खरिद गरेर आर्थिक चलखेल गर्नलाई पहिले नै सेटिङ मिलाएर बोलपत्र आह्वान गरेको स्रोतको दाबी छ ।
