ललिता निवास प्रकरण ः अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउने आदेश
ललिता निवास प्रकरण ः अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउने आदेश

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ। आइतबार विशेष अदालत उपस्थित भएका बस्न्यातसँग ४ घन्टा बयान लिएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बस्न्यातलाई थुनामा पठाउने आदेश जारी गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारकै पूर्व प्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिदबिक्री गर्नेहरूविरुद्ध पनि मुद्दा दायर भएको थियो।
मुद्दा दायर गरिएकामा नेपाली कांग्रेसका नेता गच्छदार तथा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसमेत थिए। विशेष अदालतले उनीहरुलाई फागुनमै अदालत उपस्थित हुन म्याद जारी गरेको थियो। लकडाउन खुकुलो भएसँगै अदालत खुल्न थालेपछि केही आरोपी अदालतमा उपस्थित भएपनि गच्छदारसहितका केही भिआइपी भने उपस्थित भएका छैनन्।
पूर्वमन्त्रीहरुमा डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र छविराज पन्त तथा पूर्वसचिव दिनेशहरि अधिकारी उपस्थित भएका छन्। उनीहरु विशेष अदालतबाट जोशी बाहेक अन्य जनही ५ लाख धरौटीमा छुटेका थिए। जोशीलाई विशेषले साधारण तारेखमा रिहा गर्ने आदेश गरेको थियो।
सबैभन्दा पहिला डिल्ली बजार मालपोत कार्यालयका अधिकृत कृष्णप्रसाद पौडेल चैत ३ गते विशेष अदालत पुगेका थिए। आयोगले पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार बिगो दाबी गर्दै ८ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरी मुद्दा दायर गरेको थियो।
पहिलो पटक अदालतमा हाजिर भएका पौडेललाई धरौटी नमागी थुनामा पठाउने आदेश विशेषले गरेको थियो। उनी त्यसविरुद्ध सर्वोच्च पुगेका थिए। सर्वोच्चले उनलाई धरौटीमा छाडेको थियो।
साभार यो समाचार नेपाल लाइभमा छ ।