मंसिर ७,बिहिबार। उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा शनिबार राती अज्ञात समुहले बम विस्फोट गराएको छ । वडा नं ५ रुपाटारमा रहेको गाउँपालिकाको कार्यालय परिसरको नागरिक सहायक कक्षमा राति १:१५ बजेतिर बम बिस्फोट भएको हो । संगै रहेको अर्को बम भने बिस्फोट हुन बाँकी रहेकाले डिस्पोजका लागि नेपाली सेनाको टोली परिचालन गरिएको छ । बम विस्फोटले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको र विस्फोटले ती कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफ लगायतका सामानमा क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाकारी दिएको छ। मध्यरातमा नजिकबाट ठूलो आवाज आएपछि स्थानीय आतंकित भएका थिए।
अहिले घटनास्थल प्रहरीले नियन्त्रणमा लिएको छ । बम विस्फोटको कसैले जिम्मा लिएको छैन् । गाउँपालिकाको आफ्नै कार्यालय भवन नभएपछि तीन वर्षयता पालिकाको कार्यालय महेन्द्र रत्न माध्यमिक विद्यालयको भवनमा भाँडामा संचालन हुँदै आएको थियो । गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बम किन र कस्ले विस्फोट गराएको भन्ने आफू अनभिज्ञ रहेको बताए ।
