संसदीय समितिले रौतहटको श्रीराम सुगर मिल्सले उखु किसानलाई नदिएको रकम एक महिनाभित्र भुक्तानी हुनेगरी समन्वय गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकले श्रीराम सुगर मिल्सबाट उत्पन्न समस्याको समाधान एक महिनाभित्र सम्पन्न गरी समितिमा जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो । रौतहटमा रहेको श्रीराम सुगर मिल्सले किसानबाट उखु खरिद गरी करोडौं रुपैयाँ भुक्तानी दिएको छैन् ।त्यस्तै आठ दश महिनायता उद्योग बन्द गरी मजदूरको समेत पारिश्रमिक दिएको छैन् ।यस्तै चाडपर्वको समय भएकाले सम्बन्धित मन्त्रालयले उखु किसान र मजदूरहरुलाई तत्काल राहतस्वरुप केही रकम भुक्तानी दिइसक्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बताएका छन् ।
सुगर मिल्सले किसानबाट उखु खरिद गरेको भुक्तानी नदिई गत साउन ११ गते सूचना प्रकाशन गरी उद्योग सधैको लागि बन्द भएको जानकारी गराएको थियो। मिल्स बाट किसानहरुले पाउनुपर्ने करिब ४१ करोड रुपैयाँ पाउन सकेका छैनन् भने श्रमिक तथा कर्मचारीले पनि तलब भत्ता र कर्मचारी सञ्चयकोषमा रहेको करिब ४ करोड रुपैयाँ पाएका छैनन् । मिल्स सँग भुक्तानी माग्दा जग्गा विक्री भएपछि मात्रै भुक्तानी दिने जवाफ मिल्स पक्षबाट आएको भन्दै किसानहरु अन्योलमा परेका हुन ।
