काँग्रेस संसदीय दल
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलले पार्टीको जिल्ला कार्यसमिति गुल्मीले सोमबार स्थानीय मुद्दाका बारेमा जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण रुपले ज्ञापनपत्र बुझाउने क्रममा प्रहरी प्रशासनद्वारा बल प्रयोग गरी दुव्र्यवहार गरेको जनाउँदै सो घटनाको भत्सर्ना गरेको छ।
दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज एक विज्ञप्तिमार्फत कोरोना भाइरस सङ्क्रमणको संवेदनशीललाई मध्यनजर गर्दैै सतर्कताका साथ जिल्ला प्रशासन कार्यालय पुगेका जिल्ला पार्टी सभापति लगायत नेताकार्यकर्ताहरुलाई प्रवेशमा नै रोक लगाउनु र शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउन नदिनु स्थानीय प्रशासनको नियतमै खोट देखिएको आरोप लगाएका छन् ।
प्रहरी प्रशासनको दमनमा परी काँग्रेसका जिल्ला पार्टी सभापति भुवन श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण के.सी.लगायतका साथीहरु घाइते भएको ,जिल्ला नेतृत्व माथि नै सांघातिक आक्रमण हुनु अत्यन्त आपत्तिजनक र निन्दनीय भएको बिज्ञप्ति मा उल्लेख गरिएको । उक्त घटनामा घाइते हुनु भएका सम्पूर्ण साथीहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत विज्ञप्तिमा उल्लेख छ ।
घटनाको छानविन गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्दै उनले ज्ञापन पत्रमा उल्लेखित विषय सम्बोधन गर्न र गम्भीर बन्न प्रधानमन्त्री र गृहमन्त्रीको समेत ध्यानाकर्षण गराइएको छ ।
