नेपाल कम्युनिस्ट पार्टी का उपाध्यक्ष वामदेव गौतमले गौतमले राष्ट्रिय सभाको गरिमा बढाउनका निम्ति नेपालको संविधान र नियमावलीबमोजिम राष्ट्रिय सभामा जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय सभा सदस्यकाे शपथग्रहणपछि छोटो मन्तव्य राख्दै नेता गौतमले उक्त कुरा बताएका हुन् ।
‘राष्ट्रिय सभा सदस्य रहँदासम्म यसको गरिमा र प्रतिष्ठा गिराउने गरी कुनै पनि क्रियाकलाप गर्नेछैन, नेपालको स्वतन्त्रता, राष्ट्रियता, सार्वभौम अधिकार र नेपाली जनताप्रति सदैव बफादार भएर कर्तव्य निर्वाह गर्नेछु,’ गौतमले प्रतिबद्धता मन्तव्यमा भने, ‘हाम्रो पार्टी नेकपाले नेपालमा समाजवाद स्थापना गर्ने संकल्प गरेको छ । त्यही संकल्पबमोजिम यहाँबाट के–कति भूमिका निर्वाह गर्न सकिन्छ, गर्नेछु ।’
गौतमले कुनै वेला आफैँले पार्टी सदस्यता दिएका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाबाट शपथ लिन पाएकोमा खुसी व्यक्त गरे । ‘मलाई यो सभामा उपस्थित गराएर शपथ गराउने अध्यक्षज्यू कुनै वेला मेरो कार्यकर्ता हुनुहुन्थ्यो र मैले नै पार्टी सदस्यता प्रदान गरेको थिएँ,’ गौतमले प्रतिबद्धता मन्तव्यमा भने, ‘मैले आज सदस्यता प्रदान गरेको एकजना कमरेड राष्ट्रिय सभाको अध्यक्ष हुँदा मेरो छाती चौडा भएको छ । उहाँप्रति हार्दिक आभार प्रकट गर्दछु ।’
उनले सांसद सिफारिसका लागि आग्रह गर्ने आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी , मनोनयनका लागि राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गर्ने प्रधानमन्त्री केपी ओली र मनोनयन गर्ने राष्ट्रपति भण्डारीप्रति पनि आभार प्रकट गरे । गौतमले बिहीबार अपराह्न ४ बजे राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाबाट शपथ लिएका थिए । उनको शपथमा नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू नेपाल, खनाल, प्रवक्ता श्रेष्ठसहित स्थायी कमिटीका र केन्द्रीय कमिटीका केही सांसद पनि सहभागी थिए । गौतमलाई बधाई दिन नेपाल कम्युनिस्ट पार्टीका थुप्रै नेता–कार्यकर्ता उनको निवास भैँसेपाटी पनि पुगेका थिए ।
