वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन्।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार गौतमको सिफारिस शितल निवास पठाएको थियो।
राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसद गत फागुनदेखि राष्ट्रिय सभामा खाली रहेको छ।
फागुन १४ गते बसेको सचिवालय बैठकले गौतमको नाम पठाउन सुझाव दिएपनि प्रधानमन्त्री केपी ओलीले उनको नाम सिफारिस गरेका थिएनन्। प्रधानमन्त्री ओलीले निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रिय सभामा पठाउन चाहेका थिए,त्यसैले ओलीले सांसद नरहेपनि खतिवडालाई ६ महिनासम्म मन्त्री बनाए तर कसैको पनि नाम सिफारिस गरेनन्। भदौ २० गते खतिवडाको ६ महिने कार्यकाल सकिसकेको छ।भदौ १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली आफैंले गौतमको नाम सिफारिस गर्ने जानकारी गराएका थिए। गौतम २०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका थिए।