छोटेलाल यादब
पर्सा – नेपालमा थप चार जनाकाे काेराेना भाइरसकाे सङ्क्रमणका कारण मृत्यु भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । कोरोना भाइरसको कारण मृतक हुने व्यक्ति चारै जना पर्सा जिल्लाका हुन् ।
पर्साकाे वीरगञ्ज महानगरपालिका ११ घर भइ ललितपुरको थसिखेल बस्ने ६५ वर्षीया एक महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे थियो ।
यस्तै वीरगञ्ज महानगरपालिका ११ का ५६ वर्षीय पुरुषको बिहीबार राति ११ बजे मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मुटुको रोगी उहाँको आईसीयू र भेन्टिलेटरमा राखेर गण्डक अस्पतालमा उपचार भइरहेको थियो । उहाँलाई गएको ६ गते कोरोना पुष्टि भएको जानकरी दिएको थियो ।
यस्तै वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय अर्का एक पुरुषको बिहीबार राति ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । गएको ५ गते उहाँ अस्पताल भर्ना हुन भएको थियो । उहाँलाई ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको थियो ।
वीरगञ्ज महानगरपालिका २ काे छपकैयाका ६५ वर्षीय अर्का एक पुरुषको पनि कोरोनाका कारण मृत्यु भएकाे छ । उहाँको निधनपछि कोरोनाको परीक्षण गरिएको थियो । रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
नेपालमा कोरोनाका भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ पुगिसकेको छ ।
