पोखरा ।नेपालका प्राकृतिक सौन्दर्य, संस्कृति, जनजीवन र सिर्जनशीलतालाई एउटै फ्रेममा उतार्ने उद्देश्यसहित आयोजना हुन लागेको **नेपाल फोटो फेस्टिभल २०२६ प्रति देश–विदेशका फोटोग्राफीप्रेमीहरूको आकर्षण बढ्दै गएको छ।
वर्डप्रेस पोखरा कम्युनिटीको आयोजनामा हुन लागेको महोत्सवका लागि हालसम्म १ हजार ८ सयभन्दा बढी फोटो प्राप्त भइसकेका छन्। नेपालका विभिन्न जिल्ला मात्रै होइन, विदेशमा रहेका नेपाली तथा अन्तर्राष्ट्रिय फोटोग्राफरहरूले समेत आफ्ना सिर्जनात्मक तस्बिरहरू पठाएर सहभागिता जनाइरहेका छन्।
आयोजकका अनुसार यो कार्यक्रम केवल फोटो प्रतियोगिता नभई फोटोग्राफी, संस्कृति, पर्यटन, सिर्जनशीलता र समुदायलाई जोड्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
महोत्सवले नयाँ तथा अनुभवी दुवै फोटोग्राफरलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ। सहभागीहरूले विभिन्न क्षेत्रका फोटोग्राफर, कन्टेन्ट क्रिएटर तथा कलाकारहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै अनुभव आदान–प्रदान गर्न सक्नेछन्। साथै, भविष्यका सिर्जनात्मक परियोजनाका लागि सहकार्यको सम्भावना पनि खुल्ने आयोजकको विश्वास छ।
उत्कृष्ट तस्बिरहरूलाई आकर्षक पुरस्कार, गिफ्ट ह्याम्पर, ग्याजेट, फेस्टिभल स्वाग्स तथा अन्य विशेष उपहार प्रदान गरिने जनाइएको छ।
महोत्सवमा सहभागिताका लागि व्यावसायिक फोटोग्राफर हुनुपर्ने बाध्यता छैन। मोबाइल फोनबाट फोटो खिच्ने विद्यार्थीदेखि डीएसएलआर प्रयोग गर्ने अनुभवी फोटोग्राफर, पत्रकार, यात्रा प्रेमी, कलाकार, शिक्षक तथा दृश्य कथावाचनमा रुचि राख्ने जो–कोहीले सहभागिता जनाउन सक्नेछन्।
‘हरेक फ्रेमको आफ्नै कथा हुन्छ’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवको उद्घाटन कार्यक्रम मे १६ मा पोखरामा हुनेछ भने समापन कार्यक्रम जुन १३ मा पर्यटकीय गाउँ घान्द्रुकमा आयोजना गरिनेछ। समापन समारोहमा उत्कृष्ट तस्बिर घोषणा, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम राखिएको छ।
सहभागिताका लागि ९०० रुपैयाँको टिकट व्यवस्था गरिएको छ। आयोजकले टिकट खरिद प्रक्रिया सहज बनाइएको जनाएको छ।
नेपालका हिमाल, ताल, नदी, संस्कृति, परम्परा र जनजीवनका कथाहरूलाई विश्वमाझ पुर्याउने उद्देश्य बोकेको यो महोत्सवले नेपालको दृश्य सम्पदाको खुला अभिलेख निर्माणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
फोटोग्राफी, यात्रा र कथावाचनमा रुचि राख्नेहरूका लागि नेपाल फोटो फेस्टिभल २०२६ केवल कार्यक्रम मात्र नभई अनुभव, अवसर र सिर्जनाको उत्सव बन्ने देखिएको छ।
