बैशाख २, नेपालगञ्ज** — नागरिकहरूमा सचेतना अभिवृद्धि गर्ने संस्थाका रूपमा परिचित बास नेपाल रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।
बास नेपाल र नाईस नेपालगञ्जद्वारा आज नेपालगञ्जमा संयुक्त रूपमा आयोजित नयाँ वर्ष २०८३ को भित्तेपात्रो (क्यालेन्डर) विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि, प्रदेश सुशासन केन्द्र नेपालगञ्जका प्रमुख उजीर न्यौपानेले बास नेपालले समाजमा चेतनामूलक भूमिका निर्वाह गरिरहेको उल्लेख गरे।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल, बर्दियाका पूर्व अध्यक्ष कृष्णजंग शाहले अन्य संस्थाहरूको तुलनामा बास नेपाल फरक र पारदर्शी संस्था भएको बताए। “धेरै संस्थाहरूले गरेका काम देखाउँदैनन्, तर बास नेपालले आफ्ना गतिविधि खुला रूपमा प्रस्तुत गर्छ, जसले नागरिकलाई जानकारी पाउन सजिलो बनाएको छ,” उनले भने।
त्यसैगरी, शिक्षाविद् जनार्दन आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्दै बास नेपालले सञ्चालन गर्दै आएका युवा सचेतनामूलक कार्यक्रमहरू निरन्तर अगाडि बढ्नुपर्ने धारणा राखे। शिक्षाविद् तथा बास नेपालका सल्लाहकार किरण आचार्यले पनि शुभकामना मन्तव्य राखेकी थिइन्।
शुभकामना मन्तव्यपछि बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्मा, नाईस नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट तथा दुवै संस्थाका पदाधिकारीहरूको उपस्थितिमा नयाँ वर्ष २०८३ का क्यालेन्डरहरू संयुक्त रूपमा विमोचन गरिएको थियो।
सोही अवसरमा असल शासन सूचना केन्द्रद्वारा प्रदेश सुशासन कार्यालयको पुस्तकालयलाई ५८ प्रकारका गरी १९८ वटा पुस्तकहरू हस्तान्तरण गरिएको थियो।
बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए।
