भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तर्फबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदवार रमेश बैद्यले आगामी निर्वाचनमा पार्टीले स्पष्ट बहुमतका साथ जित्ने दावी गर्नुभएको छ।
स्वतन्त्र पत्रकार संघ भक्तपुरले बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा उनले पार्टी विगत दशकौँदेखि भ्रष्टाचारको विरोधमा आफ्नो नीतिमा अडिग रहेको र यही कारणले नयाँ पुस्ताको समर्थन आफूहरुलाई प्राप्त भएको दावी गरे।
उनका अनुसार यस पटकको घोषणापत्रमा ठूला भ्रष्टाचारीलाई मृत्युदण्डसम्मको सजायँ र त्यसका साथै भ्रष्ट आर्जनको सम्पत्ति राष्ट्रियकरण गर्ने विषय समावेश गरिएको छ। निर्वाचनपछि त्यसै सम्पत्तिबाट शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने योजना रहेको उनले बताए।
उम्मेदवार बैद्यले कृषिलाई आत्मनिर्भर बनाउने नीति पार्टीको पहिलो प्राथमिकता भएको पनि उल्लेख गरे। आफू स्वयं किसान भएको नाताले उत्पादनमा आधारित अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने धारणा समेत उनले राखे।
भक्तपुर क्षेत्र नं २ को निर्वाचन इतिहास अनुसार यहाँ विगतमा नेपाल मजदुर किसान पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदै आएको छ।
सन् २०४८ देखि हालसम्म यस क्षेत्रमा पटक–पटक फरक दल विजयी भएका छन्।
विगतका विजेताहरुमा नेपाली कांग्रेसका जग्गनाथ आचार्य, लेखनाथ न्यौपाने, रामेश्वर थापा र दुर्लभ थापा, नेपाल मजदुर किसान पार्टीका आशाकाजी बासुकला र सुनिल प्रजापति, नेकपा एमालेका महेश वस्नेत रहेका छन्।
यस बल्लोट क्षेत्र अन्तर्गत मध्यपुर थिमी नगरपालिका (९ वडा) र सूर्यविनायक नगरपालिका (१० वडा) गरी जम्मा १९ वडाहरू रहेका छन्। कुल ९८ हजार ३५६ मतदाता इस निर्वाचन क्षेत्रमा छन्।
