चाँगुनारायणमा सेवामुखी, संवेदनशील र जिम्मेवार नेतृत्वको उदाहरण
भक्तपुर — रमेश बुढाथोकी जनप्रतिनिधि बन्नुअघि नै समाजसेवामा सक्रिय, सहयोगी र संवेदनशील व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। पेसाले व्यवसायी भए तापनि उहाँले समाजका हरेक सुख–दुःखमा निरन्तर साथ दिँदै आउनुभएको छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट चाँगुनारायण नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित भएपछि उहाँको सेवामुखी सोच सार्वजनिक जीवनमा अझ स्पष्ट रूपमा देखिन थालेको छ।
निर्वाचन जितेर सपथ लिएकै दिन उपप्रमुख बुढाथोकीले नागरिकमाझ एउटा स्पष्ट र प्रेरणादायी प्रतिबद्धता व्यक्त गर्नुभएको थियो— सरकारी गाडी बिरामी बोक्न प्रयोग गर्ने, तलब–भत्ता सामाजिक सेवामा खर्च गर्ने र व्यक्तिगत सेवा–सुविधा नलिने। यो प्रतिबद्धता आज व्यवहारमै लागू भइरहेको देखिन्छ।
२०८२/१०/०७ गते विशेष कार्यका लागि चाँगुनारायण नगरपालिका पुगेको च्छोरोल्पा खबर टिमले उपप्रमुख बुढाथोकीको कार्यकक्षमा उहाँको कार्यशैली प्रत्यक्ष अवलोकन गरेको थियो। कार्यकक्ष बाहिर विभिन्न वडाबाट आएका नागरिकहरू आफ्ना समस्या लिएर पालो कुर्दै थिए। उहाँले सबैको समस्या ध्यानपूर्वक सुन्दै “तपाईंहरूको समस्या समाधान गर्नु मेरो दायित्व हो” भन्ने भावनासहित संवाद गरिरहनुभएको दृश्य नागरिकमैत्री नेतृत्वको उदाहरण थियो।
फुटपाथ व्यवस्थापनसम्बन्धी गुनासोमा उहाँले स्पष्ट र मानवीय धारणा राख्नुभयो— “गरिखानेको रोजीरोटी खोस्न सकिँदैन, तर शहर सुरक्षित र व्यवस्थित हुनुपर्छ।” त्यसपछि नगरप्रहरीलाई निर्देशन दिँदै फुटपाथ व्यवस्थित गर्ने, कसैको सामान नफाल्ने र डर होइन संवादमार्फत समाधान खोज्ने आदेश दिनुभयो। यस्तो व्यवहारिक निर्णयले विकास र मानवताको सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्ने देखाउँछ।
शिक्षा र बालअधिकारप्रति उपप्रमुख बुढाथोकीको प्रतिबद्धता उल्लेखनीय छ। आफ्नै आर्थिक सहयोगमार्फत उहाँले चाँगुनारायण नगरपालिका वडा नं. ६, नगरकोटस्थित तौथली आधारभूत विद्यालयमा अध्ययनरत ४० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिसक्नुभएको छ। यसअघि वडा नं. ६ कै गडगडे आधारभूत विद्यालय तथा वडा नं. २ स्थित आजाद माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई ट्र्याकसुटलगायत आवश्यक सामग्री सहयोग गरिएको छ।
(स्पष्टिकरण: उक्त सहयोग कुनै बाह्य पहल होइन, उपप्रमुख बुढाथोकीको व्यक्तिगत आर्थिक सहयोग हो।)
उपप्रमुख बुढाथोकी जनप्रतिनिधि हुनुअघि पनि समाजसेवामा सक्रिय रहँदै आउनुभएको थियो। उहाँले दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नं. ८ स्थित श्री शारदा माध्यमिक विद्यालय परिसरमा सरस्वती माता मन्दिर निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको थियो, जुन उहाँको सामाजिक उत्तरदायित्वको अर्को उदाहरण हो।
“पद, सुविधा र पहुँच समाजको कमजोर वर्गका लागि उपयोग हुनुपर्छ” भन्ने उहाँको सोच र कार्यशैलीले स्थानीय तहमा सुशासन, पारदर्शिता र सेवामुखी राजनीतिप्रति नागरिकको भरोसा बढाएको छ। रमेश बुढाथोकी आज चाँगुनारायण नगरपालिकाका उपप्रमुख मात्र होइनन्, इमानदार, संवेदनशील र सेवामुखी जनप्रतिनिधिको नमुनाका रूपमा स्थापित हुँदै जानु भएको छ।
— Tshorolpa.com
