दोलखा, ३ माघ २०८२ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दोलखा जिल्लाबाट युवा नेता विशाल खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार नेता खड्कालाई आधिकारिक रूपमा उम्मेदवारीको टिकट प्रदान गरेका हुन्। एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा खड्का नेकपाको तर्फबाट प्रतिस्पर्धामा उत्रिने भएका छन्।
यसअघि बागमती प्रदेश सरकारमा वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालिसकेका खड्का दोलखामा विकास, समन्वय र पहुँचका हिसाबले प्रभावशाली नेताका रूपमा चिनिन्छन्। जिल्लाका ग्रामीण भेगदेखि सदरमुकामसम्म उनको सक्रिय उपस्थिति र सहज व्यवहारले उनीप्रति जनविश्वास बढ्दै गएको स्थानीयहरू बताउँछन्।
अनुभव, संघर्ष र जनसम्बन्धको बलियो आधार
राजनीतिक यात्राको सुरुआतदेखि नै संघर्षमा हुर्किएका खड्काले २०७४ सालमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भई मन्त्रीको जिम्मेवारी पाएका थिए। मन्त्रीकालमा उनले वन, वातावरण संरक्षणसँगै जिल्लामा सडक, खानेपानी, विद्यालय र सामुदायिक पूर्वाधार विकासका थुप्रै योजनाहरू अगाडि बढाएका थिए।
यसअघि २०७० सालमा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेर पराजित भए पनि संघीयता कार्यान्वयनपछि नेकपा माओवादी केन्द्र र एमालेबीचको गठबन्धनबाट प्रदेश सांसदमा विजयी भई आफूलाई सक्षम प्रशासकका रूपमा स्थापित गरेका थिए।
नेकपा दोलखा जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यका लागि विशाल खड्का, गोपाल न्यौपाने र नरबहादुर पाख्रिनको नाम सिफारिस गरे पनि पार्टी नेतृत्वले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
सहीद परिवारका सदस्य, युवाको भरोसा
गौरीशंकर गाउँपालिका स्थायी घर भएका खड्का सहीद परिवारका सदस्य हुन्। जनयुद्धका क्रममा उनका दाजु, नेकपा माओवादीका केन्द्रीय सदस्य रितबहादुर खड्का सहीद भएका थिए। स्वयं खड्काले पनि आन्दोलनका क्रममा करिब आठ वर्ष जेल जीवन बिताएका छन्।
यही संघर्षपूर्ण पृष्ठभूमि, सबै वर्गसँग समान व्यवहार गर्ने क्षमता र विकासप्रति स्पष्ट दृष्टिकोणका कारण उनी दोलखाली जनताको घरदैलोमा उभिन सक्ने नेताका रूपमा चिनिँदै आएका छन्। युवापुस्ताले गरेका सकारात्मक अभियान, सामाजिक गतिविधि र सिर्जनात्मक पहलहरूमा उनी सधैं उपस्थित देखिनु उनको विशेषता रहेको स्थानीय युवा नेताहरू बताउँछन्।
दोलखाको भविष्य निर्माणमा युवाको अपेक्षा
राजनीतिमा नयाँ ऊर्जा, व्यवहारिक सोच र समावेशी नेतृत्व आवश्यक भएको बेला विशाल खड्काको उम्मेदवारीले दोलखाको विकासमा नयाँ गति दिने अपेक्षा गरिएको छ। अनुभवी भए पनि युवाको भावना बुझ्ने, संवाद गर्न सक्ने र काम गरेर देखाउने नेताका रूपमा खड्कालाई दोलखाली जनताले हेरिरहेका छन्।
shorolpa Khabar
सागर थपलिया|
दोलखा
