भरतपुर -२ माघ
भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज एक विशेष समारोहबीच गणतन्त्र नेपालका प्रथम पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका आदरणीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू ले उद्घाटन गर्नुभएको छ।
उद्घाटन समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले स्थानीय तहलाई अझ प्रभावकारी, सेवा–मुखी र जनउत्तरदायी बनाउन यस्ता आधुनिक प्रशासकीय संरचनाको ठूलो महत्व रहने बताउनुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार स्थानीय सरकारलाई सुदृढ बनाउनु नै समृद्ध नेपालको आधार भएको उल्लेख गर्नुभयो।
यसै सन्दर्भमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उद्घाटन समारोहको भिडियो सार्वजनिक गर्दै महानगरपालिकाको प्रशासनिक सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यका साथ यो भवन निर्माण गरिएको जानकारी दिनुभएको छ। उहाँले भवन उद्घाटनले महानगरवासीलाई एकै स्थानबाट गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नवनिर्मित प्रशासकीय भवन सञ्चालनमा आएपछि सेवा लिन आउने सर्वसाधारणलाई सहजता हुने, कार्यालय व्यवस्थापन चुस्त हुने तथा स्थानीय सरकारको कामकारबाही अझ व्यवस्थित हुने अपेक्षा गरिएको छ।
