काठमाडौ ०१ माघ /माघे सङ्क्रान्तिको अवसरमा थापाथली सरोकार मञ्चद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा जलपान कार्यक्रम सम्पन्न
माघे सङ्क्रान्तिको अवसरमा थापाथली सरोकार मञ्चको आयोजनामा शुभकामना आदान–प्रदान तथा जलपान कार्यक्रम काठमाडौंको बिजुलीबजारस्थित क्रिष्टल पार्टी प्यालेसमा सम्पन्न भएको छ।
दिउँसो २ बजेदेखि सुरु भएको कार्यक्रममा थापाथली तथा काठमाडौं क्षेत्र नं. १ अन्तर्गत बानेश्वर क्षेत्रसँग सम्बन्धित सामाजिक अगुवा, बुद्धिजीवी, विभिन्न पेशामा आवद्ध व्यक्तित्व, युवा तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले चाडपर्वको अवसरमा आपसी शुभकामना आदान–प्रदान गर्दै सामाजिक सद्भाव र सहकार्यको आवश्यकता औँल्याएका थिए।
कार्यक्रमको सञ्चालन वरिष्ठ कलाकार मदन दास श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम बिनोद दुवाडीको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा पूर्व बागमती प्रदेश सभामुख भुवन पाठक प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा वक्ताहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै काठमाडौं क्षेत्र नं. १ बाट स्थानीय (रैथाने) उम्मेदवारको आवश्यकता रहेको विषय उठाएका थिए। स्थानीय समस्यासँग प्रत्यक्ष जोडिएको, नागरिकको सुख–दुःखमा सहभागी हुने र घरदैलोमार्फत जनसम्पर्कमा रहने उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने धारणा कार्यक्रममा व्यक्त गरिएको थियो।
कार्यक्रममा वरिष्ठ समाजसेवी तथा गीतकार शोभित उप्रेती, पूर्व प्रशासक देवेन्द्र प्रसाद सिटौला, पूर्व प्रहरी रमेश खरेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, राजनीतिज्ञ सुरेन्द्र केसी, “काठमाडौं क्षेत्र नं१ एकता समाज” का अध्यक्ष चमन कोइरालालगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले स्थानीय नेतृत्व, नागरिक सरोकार र जनमुखी राजनीतिक अभ्यासलाई सुदृढ बनाउने विषयमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको अन्त्यमा आयोजक थापाथली सरोकार मञ्चले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि तथा सहयोगीहरूप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक तथा सरोकारमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। हुनु पर्नेमा बानेश्वर समाज हुन गएको छ।
च्छोरोल्पा खबर |
