काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला (प्रदेश “ख”) द्वारा दिपावलीको पावन अवसरमा आयोजना गरिएको तिहार विशेष शुभकामना आदान–प्रदान कार्यक्रम काठमाडौं क्षेत्र नं–१, थापागाउँ बानेश्वरस्थित अर्पण पार्टी भेन्युमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर जबराको प्रमुख आतिथ्य र जिल्ला अध्यक्ष कुमार कार्कीको सभापतित्व रहेको थियो।
सभापतिको स्वागत मन्तव्यपछि सुरु भएको कार्यक्रम एक घण्टासम्म चल्ने गरी सभ्य र भव्य रूपमा सम्पन्न भएको थियो।
कार्यक्रमका विशिष्ट अतिथिमा पार्टीका कार्यवाहक अध्यक्ष विष्णु श्रेष्ठ, संस्थापक नेताहरू सुन्दर खड्का र रामेश्वर प्रधान सहभागी रहेका थिए।
वरिष्ठ नेता जबराले पार्टीका संस्थापक नेताहरूलाई पार्टीभित्र लामो संघर्ष र अतुलनीय योगदान पुर्याएको भन्दै विशेष सम्मान पनि गर्नुभयो।
कार्यक्रममा नेपाल फिल्म सोसाइटीका कलाकारहरूले प्रस्तुत गरेको देउसी–भैलोले वातावरणलाई झनै उत्सवमय बनाएको थियो।
कार्यक्रमको व्यवस्थापन तथा आर्थिक सहयोग राष्ट्रिय प्रजातन्त्र पार्टीकी सह–कोषाध्यक्ष, वरिष्ठ समाजसेवी एवं गीतकार शोभिता उप्रेतीले गर्नुभएको थियो।
उक्त अवसरमा बोल्दै प्रमुख अतिथि वरिष्ठ नेता पशुपति शम्शेर जबराले हालैको “जेन्जी आन्दोलन”का क्रममा भएको क्षति — विशेषगरी शीतल निवास र सिंहदरबारमा लागेको आगलागीप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नुभयो,
“जेन्जी आन्दोलनका जायज मागहरू सम्बोधन भई पूरा हुनुपर्छ। साथै वर्तमान सरकारले आसन्न निर्वाचन पनि सफलतापूर्वक सम्पन्न गर्नुपर्छ,”
भन्नुहुँदै उहाँले देशमा स्थायित्व र सुशासन स्थापनाका लागि सबै दलहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको सञ्चालन मदन दास श्रेष्ठले गर्नुभएको थियो।
आयोजकका अनुसार, सो कार्यक्रमले पार्टीभित्रको एकता, सांस्कृतिक चेतना र राष्ट्रिय पहिचानप्रतिको प्रतिबद्धता झल्काएको छ।
