काठमाडौं, असोज १७ — लगातारको वर्षाका कारण देशभरका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले दिएको जानकारी अनुसार हाल संखुवासभा, सिन्धुपाल्चोक, धादिङ, रामेछाप लगायतका जिल्लामा राजमार्ग पूर्ण रूपमा बन्द छन् भने काठमाडौं र काभ्रेपलाञ्चोकमा सवारीसाधन होल्ड गरिएको छ।
प्रहरीका अनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला र मकालु गाउँपालिका–३ पुग्मा क्षेत्रमा कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ सार्कीपोखरी, धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जबाङखोला, र रामेछापको गोकुलगङ्गा गाउँपालिका–८ पुजाखोला तथा वडा नं ७ सुम्पुखा क्षेत्रमा पनि सडक पूर्ण रूपमा अवरुद्ध छ।
यसबाहेक, काभ्रे र काठमाडौं जिल्लामा तत्काल अर्को सूचना नआएसम्म सवारी आवागमन दुवैतर्फबाट रोकिएको प्रहरीको भनाइ छ। पहिरो र सडक कटानका कारण जोखिम बढेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न प्रहरीले सबै यात्रु र सवारी चालकहरूलाई अनुरोध गरेको छ।
हाल प्रभावित क्षेत्रहरूमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय निकायको सहयोगमा पहिरो पन्छाउने तथा सडक खुलाउने कार्य जारी रहेको छ।
