रक्षाबन्धन, जनै पूर्णिमा र ऋषितर्पणी आज देशभ धूमधामका साथ मनाइँदै
काठमाडौँ | छोरोल्पा खबर
आज श्रावण शुक्ल पूर्णिमाका दिन देशभर रक्षाबन्धन, जनै पूर्णिमा (ऋषितर्पणी) पर्व वैदिक विधिपूर्वक मनाइँदैछ।
बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरू नदी, ताल, पोखरीमा स्नान गरी गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) र नयाँ यज्ञोपवीत धारण गरिरहेका छन्। धार्मिक विश्वासअनुसार मन्त्रिएको डोरो र जनैले नकारात्मक शक्तिबाट रक्षा गर्छ।
पौराणिक कथनअनुसार सत्ययुगमा दानवराज बलीलाई गुरु वृहस्पतिले मन्त्रपाठ गर्दै डोरो बाँधेर बाँधिदिएका थिए, त्यसैको प्रतीक स्वरूप यो परम्परा आजसम्म चलनमा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार “येन बद्धो बलिराजा…” मन्त्रसहित रक्षाबन्धन बाँध्ने वैदिक परम्परा अहिले पनि यथावत् छ।
जनै पूर्णिमासँगै तागाधारी ब्राह्मण, क्षत्री र वैश्यले नयाँ जनै फेर्ने गर्छन्। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि व्रत बस्ने, चोखोनीतो गर्ने र पूर्णिमाको दिन ‘श्रावणी स्नान’ गरी ऋषितर्पण तथा रुद्राभिषेक गरेर जनै फेर्ने परम्परा रहिआएको छ।
यस दिनलाई क्वाँटी खाने पर्व पनि मानिन्छ। ११ थरी गेडागुडी मिसाएर बनाइने क्वाँटीले रोग प्रतिरोध क्षमता बढाउने र शरीरको चिसो हटाउने विश्वास रहिआएको छ।
तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने परम्परा छ, जुन अहिले पहाडी क्षेत्रमा पनि फैलिँदै गएको छ।
आजको अवसरमा मणिचूड, गोसाइँकुण्ड, कुम्भेश्वर, पाँचपोखरी, जनकपुरधाम, जनकसागर, गङ्गासागर, दानसाधु, त्रिवेणीधामलगायतका धार्मिक स्थलमा बिहानैदेखि मेला लागेको छ। राजधानीमा भने पशुपतिनाथ मन्दिर, वसन्तपुर अशोकविनायक र वाग्मती किनारमा भक्तजनको विशेष भीड देखिएको छ।
