२०८२ साउन २२ गते | काठमाडौं
च्छोरोल्पा खबर
काठमाडौं महानगरपालिका–१६, नयाँ बजारस्थित विष्णुमती पुल नजिक रहेको ऐतिहासिक नानक मठ परिसरमा रहेको महन्तवन (उप्रेती वंशीय महन्त रामगोथल महाराजको भू-समाधिस्थल तथा मन्दिर) को सरसफाइ तथा संरक्षणका लागि उप्रेती सेवा समाजले विशेष अभियान थालेको छ।
उक्त स्थलमा विगत ७०० वर्षदेखि अखण्ड ज्योति प्रज्वलन हुँदै आएको छ। महन्त रामगोथल महाराजले यहीँ जिवित समाधि लिनुभएको मानिन्छ, जसले गर्दा यो स्थान हिन्दू धर्मालम्बीहरूका लागि आध्यात्मिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ।
“अब हामी यो स्थलको संरक्षणमा पछि हट्दैनौं” — शोभित उप्रेती
उप्रेती समाजका अध्यक्ष शोभित उप्रेतीले च्छोरोल्पा खबरसँगको कुराकानीमा भने:
“महन्त रामगोथल महाराजजस्ता सिद्धपुरुषले जिवित समाधि लिनुभएको यस भू-समाधिस्थल हिन्दू धर्म र उप्रेती बंशकै गौरव हो। यसको
सरसफाइ, संरक्षण र व्यवस्थापनमा अब हामी कुनै पनि हालतमा पछि हट्नेछैनौं।”

“दुर्भाग्य कि यस्तो स्थल बेवास्तामा” — साहित्यिक पत्रकार संघ
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले भने:
“जिवित समाधिको यति ऐतिहासिक स्थलको अवस्था देख्दा मन गहिरो पीडाले भरिन्छ। यस्तो सांस्कृतिक सम्पदा बेवास्तामा पर्दा दुःख लाग्छ। अब हामी सबैले मिलेर यसको संरक्षणमा जुट्नुपर्छ।”

“सहयोग गर्न हामी सधैं तत्पर” — खेम उप्रेती
होटल व्यवसायी खेम उप्रेतीले पनि समर्थन जनाउँदै भने:
“हाम्रो बंश र इतिहासको धरोहरलाई जोगाउन हामी कुनै पनि प्रकारको सहयोगमा पछि पर्दैनौं।”

- oplus_0
सहभागी संस्था र समन्वय
उक्त अभियानमा उप्रेती समाजसेवा समिति, साहित्यिक पत्रकार संघ, एसएस फाउन्डेसन, र गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि. (च्छोरोल्पा खबर) को सहकार्यमा २५ गतेदेखि सरसफाइ सुरु गर्ने भएको छ।
भविष्यमा थप संरचनागत व्यवस्थापन, सूचनापट्ट, संरक्षण योजना र धार्मिक गतिविधिहरू पनि थप गर्ने योजनासमेत सार्वजनिक गरिएको छ।
