भारतीय नागरिकलाई नागरिता दिन सिफारिश गरेको भन्दै कैलालीको धनगढी उप-महानगरपालिकाका-१२ वडाध्यक्ष पक्राउ परेका छन्।भारतीय नागरिकलाई वंशजको आधारमा नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा धनगढी उप-महानगरपालिका-१२ का वडाध्यक्ष गणेश प्रसाद जोशी पक्राउ परेका हुन्।
धनगढी उप-महानगरपालिका-१२ स्थित मुक्तकमैया शिविरका एक व्यक्तिलाई नक्कली बुवा बनाएर भारतीय नागरिकले नागरिकताका लागि निवेदन दिएकोमा वडाध्यक्ष जोशीले ती व्यक्तिलाई नागरिकता उपलब्ध गराउन सिफारिस गरेको उजुरी परेको र त्यही आधारमा जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
प्रहरीका अनुसार नक्कली बुवा बन्ने पुनिराम चौधरी फरार रहेका छन् भने उनका दाजु खुशीराम चौधरीलाई छानबिनका लागि नियन्त्रणमा लिइएको छ। चौधरीले नक्कली बुवा बनेर भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस लिएका थिए।
नागरिकताका लागि निवेदन माग गर्ने अन्सारी टीकापुर नगरपालिका– ७ मा बस्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका वडाध्यक्ष जिल्ला प्रहरी कार्यालयमै रहेको र यसबारे थप अध्ययन भैरहेको जिल्ला प्रहरी कार्यलय कैलालीले बताएको छ ।
