काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी रहेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको उक्त बैठकमा देशको समग्र सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा भइरहेको स्रोतले जनाएको छ।
बैठकमा हालै सुनसरीमा भएको हिंसात्मक घटनालाई विशेष प्राथमिकताका साथ छलफलको विषय बनाइएको छ। साथै देशका विभिन्न क्षेत्रमा देखिएका सुरक्षा चुनौती, शान्ति–सुरक्षा व्यवस्थापन तथा आवश्यक रणनीतिबारे पनि परिषद्ले समीक्षा गर्ने अपेक्षा गरिएको छ।
कानुनी व्यवस्थाअनुसार राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। परिषद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा मन्त्रालयका सचिव सदस्यका रूपमा सहभागी हुन्छन्।
बैठकबाट सुरक्षा व्यवस्थापनसँग सम्बन्धित आवश्यक नीतिगत निर्णय र निर्देशनहरू आउन सक्ने अपेक्षा गरिएको छ। बैठक सम्पन्न भएपछि थप विवरण सार्वजनिक हुने जनाइएको छ।
