भक्तपुर । कानुन व्यवसायी, अदालत तथा न्याय प्रशासनसँग आबद्ध व्यक्तिहरूबीच आपसी सद्भाव, सहकार्य र व्यावसायिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजित ‘लयर्स फुटसल कप–२०८३’ सफलतापूर्वक सम्पन्न भएको छ।
भक्तपुर बार एसोसिएसनको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोकका बार एसोसिएसन, जिल्ला अदालतका टोली, कानुनी सेवा तथा कानून फर्मका गरी १४ टोलीको सहभागिता रहेको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष विजयप्रसाद मिश्रले अदालत र बारबीचको सम्बन्धलाई अझ मजबुत बनाउन खेलकुदजस्ता सिर्जनात्मक कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले जिल्ला बार एसोसिएसनहरूले आगामी दिनमा पनि खेलकुद, व्यावसायिक तथा सामाजिक गतिविधिमार्फत आपसी सहकार्य र सद्भावलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश नवराज दाहाल, जिल्ला न्यायाधीशहरू तथा विभिन्न जिल्लाका वरिष्ठ कानुन व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा सहभागी १४ टोलीलाई चार समूहमा विभाजन गरी लिग चरणका खेल दुई हाफमा ७–७ मिनेट तथा नकआउट चरणका खेल दुई हाफमा १०–१० मिनेटका दरले सञ्चालन गरिएको थियो।
प्रतिस्पर्धात्मक फाइनलमा नेपाल न्यायले उपाधि जित्न सफल भएको छ भने भक्तपुर बार ‘ए’ उपविजेतामा सीमित रह्यो। काठमाडौं बार ‘सी’ तेस्रो र भक्तपुर बार ‘बी’ चौथो स्थानमा रह्यो।
विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष विजयप्रसाद मिश्रले ट्रफी, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको भक्तपुर बार एसोसिएसनका अध्यक्ष रामसुन्दर खाइतुले जानकारी दिनुभयो।
प्रतियोगिता सम्पन्न गर्न नेपाल टेलिकम, नेपाल इको प्यानल, अयुप इन्टरनेशनल, महालक्ष्मी इन्टरप्राइजेज प्रा.लि., श्रीभक्त कासिछ्वा, नेपाल लक्ष्मी फेसन प्रा.लि. लगायतका संस्था तथा विभिन्न कानुन व्यवसायी फर्महरूले सहयोग गरेका थिए। संवाहक मिडिया हाउस र नागरिक दैनिक मिडिया पार्टनर तथा मध्यपुर अस्पताल प्रा.लि. स्वास्थ्य पार्टनरका रूपमा सहभागी रहेको भक्तपुर बार एसोसिएसनका सचिव अनिस सुवालले जानकारी दिनुभयो।
आयोजकका अनुसार प्रतियोगिताले कानुन व्यवसायी, अदालत र न्याय प्रशासनसँग आबद्ध व्यक्तिहरूबीचको सम्बन्धलाई थप नजिक ल्याउनुका साथै स्वस्थ प्रतिस्पर्धा, पारस्परिक विश्वास र सहकार्यको वातावरण निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ।
