द हेग (नेदरल्याण्ड्स) — भुटानमा राजनीतिक कैदीहरूको रिहाईका लागि विश्वव्यापी अभियान (GCRPPB) ले १८ वर्षभन्दा बढी समयदेखि चामगाङ केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका चतुरमान तामाङ र हस्तबहादुर राईको रिहाइलाई स्वागत गरेको छ।
अभियानका अनुसार भुटानका राजा जिग्मे खेसर नामग्येल वाङचुकको माफीमार्फत उनीहरू जुन १, २०२६ मा रिहा भएका हुन्। GCRPPB का ग्लोबल कोअर्डिनेटर राम कार्कीले संयुक्त राष्ट्रसंघीय मानवअधिकार संयन्त्र, युरोपेली संघ तथा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूसँग गरिएको लामो समयदेखिको वकालत र कूटनीतिक पहलको परिणामस्वरूप यो उपलब्धि सम्भव भएको बताएका छन्।
यद्यपि, रिहापछि आवश्यक पहिचान तथा कानुनी कागजातको अभावका कारण दुवै पूर्व राजबन्दीलाई नेपाल प्रवेश गर्न अनुमति नदिइएको अभियानले जनाएको छ। भारत–नेपाल सीमास्थित पनितान्की क्षेत्रमा अलपत्र परेका उनीहरू हाल भारतमा आफन्तको संरक्षणमा बसिरहेको विज्ञप्तिमा उल्लेख छ।
अभियानले पर्याप्त कानुनी तथा पहिचानसम्बन्धी कागजात उपलब्ध नगराई उनीहरूलाई भारततर्फ पठाइएको भन्दै भुटान सरकारको कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। यसले पूर्व राजनीतिक कैदीहरू राज्यविहीनता, असुरक्षा तथा मानवीय संकटको जोखिममा पर्न सक्ने अभियानको भनाइ छ।
GCRPPB ले भुटान, नेपाल र भारत सरकारसँगै अन्तर्राष्ट्रिय समुदायलाई तामाङ र राईको सुरक्षा, सम्मानजनक जीवनयापन तथा स्वतन्त्र आवतजावत सुनिश्चित गर्न आवश्यक पहल गर्न आग्रह गरेको छ।
साथै अभियानले भुटानका जेलमा रहेका बाँकी २८ राजनीतिक कैदीको तत्काल र बिना शर्त रिहाइको माग गर्दै सबै राजनीतिक बन्दी मुक्त नभएसम्म आफ्नो अभियान जारी रहने जनाएको छ। अभियानले भुटानी शाही सरकारलाई थप माफी, कारागार सुधार, परिवारसँग सम्पर्कको सहज व्यवस्था तथा रिहा हुने व्यक्तिलाई आवश्यक कानुनी कागजात उपलब्ध गराउन समेत आग्रह गरेको छ।
GCRPPB को स्थापना सन् २०१९ मा नेदरल्याण्ड्सको द हेगमा भुटानी राजबन्दीका परिवारहरूको सहयोगमा गरिएको थियो।
