दार्चुला | tshorolpa.com
दार्चुलाको ब्याँस गाउँपालिका–४ स्थित श्री सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेव सिंह धामी मृत अवस्थामा फेला परेका छन्। आत्महत्याअघि उनले फेसबुकमा अत्यन्तै लामो भावुक स्टाटस लेख्दै आफू मानसिक तनाव, सामाजिक अपमान र योजनाबद्ध चरित्रहत्या प्रयासका कारण यस्तो निर्णयमा पुगेको दाबी गरेका छन्।
प्रधानाध्यापक धामीले आफ्नो स्टाटसमा विद्यालयलाई “डम्पिङ साइट जस्तो अवस्थाबाट नमुना विद्यालय” बनाएको उल्लेख गर्दै आफूले गरेका कामहरूको विस्तृत सूची सार्वजनिक गरेका छन्। उनले केही व्यक्तिहरूले आफूविरुद्ध षड्यन्त्र र झुटा आरोप फैलाएको दाबीसमेत गरेका छन्।
उनले लेखेका छन्:
“ईमानदारीता, पारदर्शिता र जवाफदेहीता मेराे कार्यशैलीमा दुष्मन र पापीहरूले चलखेल गरि मेराे सुन्दर परिवारलाई ध्वस्त बनाईदिए ।”
धामीले २०७७ साल कार्तिक ८ गते सम्पाल माविमा सरुवा भएर आएको र विद्यालयलाई पाँच वर्षभित्र नमुना बनाउने संकल्पसहित काम थालेको उल्लेख गरेका छन्।
विद्यालय सुधारका लागि गरेका ४६ बुँदे काम
प्रधानाध्यापक धामीले आफ्नो स्टाटसमा विद्यालय सुधारका लागि आफूले गरेका मुख्य कामहरू यसरी उल्लेख गरेका छन्:
– १८ कोठे पक्की भवन निर्माण
– सुविधा सम्पन्न पुस्तकालय स्थापना
– ICT प्रयोगशाला निर्माण
– स्मार्ट बोर्ड जडान
– प्रविधिमैत्री कक्षाकोठा निर्माण
– विज्ञान तथा कृषि प्रयोगशाला स्थापना
– बालमैत्री शौचालय निर्माण
– हरित विद्यालय अभियान सञ्चालन
– विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक वितरण
– अतिरिक्त कक्षा सञ्चालन
– SEE/SLC मा उत्कृष्ट GPA ल्याउने विद्यार्थीलाई नगद पुरस्कार
– विद्यालय विनियमावली निर्माण
– प्रशासनिक तथा स्टाफ कक्ष व्यवस्थापन
– शिक्षक/विद्यार्थी अभिलेख प्रणाली व्यवस्थापन
– खानेपानी, फिल्टर र ट्याङ्की व्यवस्थापन
– गुनासो पेटिका तथा उपस्थिति बोर्ड व्यवस्थापन
उनले स्टाटसमा लेखेका छन्:
“विद्यालयकाे चल्ती खातामा ५०० रुपैयाँ बुझेकाे थिएँ, हाल १२ लाख रुपैयाँ पुर्याएकाे छु।”
‘मलाई योजनाबद्ध रूपमा फसाइयो’
धामीले केही शिक्षक, स्थानीय व्यक्तित्व तथा ठेकेदारमाथि आफूलाई सामाजिक रूपमा बदनाम गराउने प्रयास गरेको आरोप लगाएका छन्। उनले आफूलाई झुटा बलात्कार आरोपमा फसाउने षड्यन्त्र भएको दाबी गर्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन्।
स्टाटसमा उनले लेखेका छन्:
“मेराे शैक्षिक इतिहास समाप्त गरि स्वाभिमानमा गम्भीर चोट पुगेकोले डिप्रेसनको सिकार भएर आत्महत्या गर्न बाध्य भएको छु।”
उनले मृत्युपछि DNA परीक्षण गरिनुपर्ने मागसमेत राखेका छन्।
परिवारलाई भावुक सन्देश
आफ्ना छोराहरू राजेश र राकेश तथा पत्नी सीतालाई सम्बोधन गर्दै उनले भावुक सन्देश लेखेका छन्।
“मम्मीको विशेष ख्याल गर्नु, बिस्तारै मलाई बिर्सेर आफ्नो लयमा फर्कनु।”
उनले शिक्षण पेशामा नआउन समेत परिवारलाई सुझाव दिएका छन्।
निष्पक्ष छानबिनको माग
घटनापछि स्थानीय समुदाय, शिक्षक, अभिभावक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
धामीले आफ्नो स्टाटसमा सरकार, प्रहरी प्रशासन तथा राजनीतिक दलहरूलाई सम्बोधन गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
हाल जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक स्टाटस तथा आरोपहरूको समेत अध्ययन गरिरहेको बुझिएको छ।
यस घटनाले शिक्षा क्षेत्र, सामाजिक प्रतिष्ठा, मानसिक तनाव तथा चरित्रहत्या जस्ता विषयमा गम्भीर बहस सिर्जना गरेको छ।









