जेष्ठ ०५ दोलखा
दोलखा रास्वपाको राजनीति फेरि एकपटक तातेको छ । परिवर्तन, पारदर्शिता र “हाम्रो होइन, राम्रो” भन्ने नारासहित जनताको मत जितेर संसद पुगेका माननीय जगदीश खरेलमाथि अहिले आफ्नै पार्टीभित्र र सैलुङका नागरिकस्तरबाट गम्भीर प्रश्न उठ्न थालेका छन् ।
विशेषगरी सैलुङ गाउँपालिकाका नागरिकहरू अहिले आक्रोशित बनेका छन् । वर्षौंदेखि विभिन्न राजनीतिक दलका नेताहरू चुनावका बेला सैलुङ पुग्ने, सपना बाँड्ने, विकासका आश्वासन दिने तर मत पाएपछि फर्केर समेत नहेर्ने पुरानै राजनीतिक संस्कारले सैलुङवासी पटकपटक ठगिँदै आएका छन् । यही निराशाका बीच “नयाँ शक्ति” भन्दै जनताले रास्वपालाई विश्वास गरेका थिए । तर अहिले त्यही नयाँ भनिएको शक्तिमा पनि उही पुरानै शैली दोहोरिन थालेको आरोप उठ्न थालेपछि सैलुङमा असन्तुष्टि चुलिएको छ ।
स्थानीय नागरिकहरू भन्छन् — “पुराना दलले धोका दिए, त्यसैले नयाँ रोज्यौं । तर अहिले फेरि उहीँ झुट, उहीँ प्रचार र उहीँ आफन्तवाद देखिन थालेपछि जनताले कसलाई विश्वास गर्ने ?”
विवादको मुख्य कारण बनेको छ माननीय जगदीश खरेलको निजी सचिवालयबाट सार्वजनिक गरिएको विवरण । सचिवालयले सार्वजनिक गरेको बुँदा नं. ५ मा “शैलुङ गाउँपालिका बाघखोर बजार तथा शैलुङमा दोलखाली नागरिक तथा शुभचिन्तकसँग भेटघाट तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरिएको” उल्लेख गरिएको छ । तर स्थानीय कार्यकर्ता तथा नागरिकहरूले भने यस्तो कार्यक्रम वास्तविक रूपमा नभएको दाबी गरेका छन् ।

रास्वपाका एक स्थानीय नेताले सामाजिक सञ्जालमार्फत कडा असन्तुष्टि व्यक्त गर्दै प्रश्न उठाएका छन् — “कार्यक्रम नै नभएको ठाउँमा कार्यक्रम भयो भनेर प्रचार गर्नु जनताको आँखामा छारो हाल्नु होइन ? सैलुङका नागरिकलाई कमजोर नठानियोस् ।”
छोरोल्पा सहकर्मी सुजित थपलियासँगको कुराकानीमा ती नेताले भनेका छन्, “सैलुङले सबैभन्दा धेरै मत दिएर जिताएको ठाउँको सम्मान गर्नुपर्ने हो । तर उल्टै झुटो माइन्युट बनाएर प्रचार गर्नु जनमतको अपमान हो ।”
यति मात्र होइन, पार्टी स्थापना कालदेखि सक्रिय रहेका आफ्नै कार्यकर्तालाई पाखा लगाएर हालै अन्य दलबाट आएका आफन्त र नातागोतालाई सिधै जिम्मेवार पदमा नियुक्त गरिएको विषयले पनि रास्वपाभित्र प्रश्न उठाएको छ । कार्यकर्ताहरू अहिले खुलेर भन्न थालेका छन् — “यदि नयाँ राजनीति पनि भागबण्डा, आफन्तवाद र झुटो प्रचारमै सीमित हुने हो भने पुराना दल र नयाँ शक्तिमा फरक के रह्यो ?”
सैलुङका नागरिकहरूका अनुसार आज सैलुङ जसरी विकास र चेतनाको बाटोमा अघि बढिरहेको छ, त्यो कुनै दलको कृपा होइन, स्थानीय नागरिककै संघर्ष, पसिना र आत्मबलको परिणाम हो । तर हरेक चुनावमा सैलुङलाई केवल मत बैंकको रूपमा प्रयोग गर्ने प्रवृत्तिले नागरिकहरू वाक्क भइसकेका छन् ।
सैलुङ अब केवल भाषण सुन्ने ठाउँ होइन । यहाँका नागरिक सचेत छन्, राजनीतिक हिसाबले परिपक्व छन् र पटकपटक ठगिँदा पनि अब मौन बस्ने अवस्थामा छैनन् । “सैलुङलाई कमजोर ठान्ने राजनीति अब धेरै दिन टिक्दैन” भन्ने आवाज अहिले त्यहाँबाट खुला रूपमा उठ्न थालेको छ ।

