जेष्ठ २ गते
लोकतान्त्रिक गणतन्त्र कंगोको उत्तर–पूर्वी इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इबोला बुन्डिबुग्यो प्रजातिको संक्रमण फैलिन थालेपछि कंगो सरकारलाई आपतकालीन सहयोग तीव्र बनाएको जनाएको छ ।

राजधानी किन्शासास्थित राष्ट्रिय बायोमेडिकल अनुसन्धान संस्थान (INRB) ले गरेको प्रयोगशाला परीक्षणमा मोंगब्वालु र र्वाम्पारा स्वास्थ्य क्षेत्रबाट संकलित १३ नमूनामध्ये ८ नमूनामा इबोला बुन्डिबुग्यो प्रजाति पुष्टि भएको हो । यो प्रजाति पहिलोपटक सन् २००७ मा युगान्डाको बुन्डिबुग्यो जिल्लामा पहिचान गरिएको थियो । त्यसबेला १३१ संक्रमितमध्ये ४२ जनाको मृत्यु भएको थियो ।
हालको प्रकोपमा इबोलाका कारण ८० जनाको समुदायस्तरमा मृत्यु भएको आशंका गरिएको छ । संक्रमितहरूमा ज्वरो, शरीर दुख्ने, अत्यधिक कमजोरी, बान्ता तथा केहीमा रक्तस्रावका लक्षण देखिएका छन् । धेरै बिरामीको अवस्था छिट्टै गम्भीर बनेर मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
डब्लुएचओको आपतकालीन टोली इटुरी प्रान्तमा खटिइसकेको छ । टोलीले राष्ट्रिय तथा प्रान्तीय स्वास्थ्य निकायसँग मिलेर संक्रमित पहिचान, सम्पर्क ट्रेसिङ, सुरक्षित उपचार, संक्रमण नियन्त्रण र समुदाय सचेतना अभियान सञ्चालन गरिरहेको छ ।
अफ्रिकाका लागि डब्लुएचओ क्षेत्रीय निर्देशक डा. मोहम्मद जनाबीले कंगोसँग इबोला नियन्त्रणको अनुभव रहेको उल्लेख गर्दै भाइरसको फैलावट रोक्न थप विशेषज्ञ र स्रोत परिचालन गरिएको बताएका छन् ।
डब्लुएचओले संक्रमण रोकथाम सामग्री, प्रयोगशाला उपकरण, उपचार सामग्री, पाल तथा अन्य स्वास्थ्य सामग्रीसहित ५ मेट्रिक टन आपूर्ति हवाई मार्गबाट प्रभावित क्षेत्रमा पठाएको जनाएको छ ।
इटुरी क्षेत्र खानी गतिविधि, असुरक्षा र सीमापार आवागमनका कारण उच्च जोखिमयुक्त मानिएको छ । यसले संक्रमण थप फैलिने खतरा बढाएको स्वास्थ्य विज्ञहरूको भनाइ छ ।
यसैबीच छिमेकी युगान्डाले पनि कंगोबाट आएका एक बिरामीमा इबोला बुन्डिबुग्यो पुष्टि भएको जनाएको छ । उपचारकै क्रममा ती बिरामीको मृत्यु भएपछि युगान्डाले सीमाक्षेत्रमा निगरानी र स्वास्थ्य जाँच कडा बनाएको छ ।
कंगोमा सन् १९७६ देखि हालसम्म इबोला रोगको यो १७ औँ प्रकोप हो । पछिल्लो प्रकोप डिसेम्बर २०२५ मा अन्त्य भएको थियो ।
इबोला संक्रमित व्यक्तिको रगत, शारीरिक तरल पदार्थ वा दूषित वस्तुसँग प्रत्यक्ष सम्पर्कबाट सर्ने गम्भीर रोग हो । समयमै पहिचान, उपचार र जनस्वास्थ्य सतर्कताले संक्रमण नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने डब्लुएचओले जनाएको छ ।
