काठमाडौँ, पुस १२— काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय अगुवाहरूले रैथाने उम्मेद्वार आवश्यक रहेको धारणा एक स्वरमा सार्वजनिक गरेका छन्। आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई केन्द्रमा राख्दै आज काठमाडौँको क्रिस्टल पार्टी भेनुमा सम्पन्न भेलाले बाहिरबाट आएका र स्थानीय माटो नबुझेका उम्मेद्वारलाई स्वीकार नगर्ने स्पष्ट सन्देश दिएको हो।
राजनीति, कला, साहित्य, पत्रकारिता तथा सामाजिक क्षेत्रमा सक्रिय करिब तीन सय जनाको सहभागिता रहेको उक्त भेलाले काठमाडौँ–१ को जनभावना बुझ्ने, स्थानीय समस्या र आवश्यकतामा गहिरो समझ भएको तथा जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने उम्मेद्वारलाई मात्रै साथ दिने निर्णय गरेको छ। भेलामा पटक–पटक निर्वाचित भइसकेका तथा पराजित भइसकेका अनुहारप्रति पनि असन्तुष्टि व्यक्त गर्दै अब नयाँ र रैथाने नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
भेलामा सहभागी अगुवाहरूले अघिल्ला निर्वाचनहरूमा काठमाडौँ–१ का मतदाताले विभिन्न राजनीतिक धारका उम्मेद्वारलाई अवसर दिँदै आएको स्मरण गराउँदै विगतमा रविन्द्र मिश्रालाई पनि पटक–पटक साथ र समर्थन गरिएको उल्लेख गरे। तर अब भने क्षेत्रकै माटो, समाज र जनताको भावना बुझ्ने व्यक्तिलाई उम्मेद्वार बनाएर जिताउने प्रतिबद्धता जनाइएको छ।
सोही भेलाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सिफारिस भएका समाजसेवी सोभित उप्रेतीको नामलाई उपयुक्त रैथाने विकल्पका रूपमा अघि सार्दै उनको उम्मेद्वारी सुनिश्चित गर्न जोडदार आवाज उठाएको छ। राप्रपाबाट सिफारिस भएका अर्का नेता पशुपति शमशेर राणाले उम्मेद्वार नबन्ने स्पष्ट गरिसकेपछि उप्रेती नै काठमाडौँ–१ को आवश्यकता भएको ठहर भेलाले गरेको छ।
काठमाडौँ क्षेत्र नम्बर १ एकता समाज बानेश्वरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा क्षेत्रका प्राज्ञिक, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। समाजका अध्यक्ष चमन कोइरालाले क्षेत्र नम्बर १ का विभिन्न समुदायका अगुवाहरूको आग्रहमा भेला आयोजना गरिएको जानकारी दिए।
कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यकार राधेश्याम लेकाली, क्षेत्रीय अगुवा विनोद दवाडी, राप्रपाका क्षेत्रीय अध्यक्ष रामेश्वर श्रेष्ठ, अगुवा महिला रीना वली शाही, राप्रपा नेता नवीन शाहीलगायतले धारणा राख्दै अब काठमाडौँ–१ मा रैथाने उम्मेद्वार चयन गरी जिताउन सामूहिक रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।
भेलामा सहभागीहरूले समाजसेवी सोभित उप्रेतीको उम्मेद्वारी सिफारिसलाई कायम गराउन राजनीतिक दलहरूमाथि दबाब सिर्जना गर्ने र आवश्यक परे घरदैलो अभियानमै सक्रिय हुने तयारीसमेत रहेको बताएका छन्।
रिपोर्ट: : बनदना आचार्य
स्रोत: Tshorolpa Online Khabar | क्रिस्टल पार्टी भेनुमा सम्पन्न भेलामा आधारित
