काठमाडौं, २०८२ पुस ७ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष निर्वाचनतर्फ पशुपति शमशेर राणासहित ४ जनाको र समानुपातिकतर्फ प्रा. डा. जयन्तनाथ खनालसहित ६ जनाको नाम सिफारिस गरेको पुष्टि भएको छ।
क्षेत्रीय समितिको बैठकले गत हप्ता नै उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको थियो। क्षेत्रीय समिति अध्यक्ष रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेको माइन्युटसहित उक्त निर्णय पार्टी सचिवालयमा दर्ता गरिएको जानकारी क्षेत्रीय समिति सदस्य विनोद दवाडीले दिएका छन्।
उनका अनुसार, रविन्द्र मिश्रको नाम क्षेत्रीय समितिले सिफारिस नगरेपछि केही कार्यकर्ताको उपेक्षाका बीच मिश्रले समिति बाहिरका व्यक्तिहरू संलग्न गराई आफ्नो नाम सिफारिस भएको भनी प्रचार गराएको दाबी गरिएको छ।
यस घटनाप्रति काठमाडौं–१ का राप्रपाका कार्यकर्ता, क्षेत्रीय तथा वडा समितिका सदस्यहरू असन्तुष्ट देखिएका छन्। उनीहरूले मिश्रको गतिविधिप्रति आपत्ति जनाउँदै विरोध कार्यक्रमसहित भेला आह्वान गर्ने तयारी गरेका छन्। आजभोलि नै क्षेत्र नम्बर–१ का सबै सक्रिय सदस्यहरूको संयुक्त भेला आयोजना गर्ने तयारी भइरहेको दवाडीले जानकारी दिए।
यस घटनाले पार्टीभित्र आन्तरिक समीक्षा, अनुशासन र जवाफदेहिताको आवश्यकता रहेको स्पष्ट देखाएको छ।
— छोरोल्पा खबरसँगको टेलिफोन सम्पर्कमा आधारित
