बन्दना आचार्य—दोलखा
काठमाडौँबाट चरिकोट हुँदै पवटीतर्फ जाँदै गरेको रोलवलिङ यातायातको गाडीले बाटोमै यात्रुहरूलाई झारेर “गाडी बनाउन गएको” भन्दै छोडेपछि यात्रुहरू तीन घण्टादेखि बाटोमै अलपत्र परेका छन्।
गाडीले पवटीसम्मको टिकट काटेको भए पनि चालकले बाटोमै यात्रुलाई झारेर गाडी मर्मतका लागि फर्किएको थियो। तर लामो समयसम्म नफर्किँदा यात्रुहरू चरिकोट सातदोबाटोमा असहाय अवस्थामा परेका छन्। यात्रुका हातमा रहेको टिकटमा गाडी नम्बर अपूर्ण रूपमा (१५०१) मात्र उल्लेख छ, जसले गाडी पहिचानमा समस्या थपेको छ।
घटनाबारे पत्रकार बन्दना आचार्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखामा रिपोर्ट गरेपछि, ट्राफिक प्रहरी ठाकुर भट्टराईको सक्रियतामा तत्कालै कारबाही प्रक्रिया सुरु भएको हो।
समितिका सदस्य तिलक थापाका अनुसार, गाडी “गियर बक्स मर्मतका क्रममा रहेको” र डेढ घण्टाभित्र तयार पारेर पठाइने प्रतिबद्धता गरिएको छ। तर, जडिबुटी काउन्टरमा कार्यरत गोपाल खड्काले भने, “हामी त्यस गाडीको सट्टामा अर्को गाडी पठाउन सक्दैनौं,” भन्दै यात्रुहरू प्रतीक्षामा रहनुपर्ने बताएका छन्।
यस घटनाले यात्रुहरूको अधिकार, यातायात समितिको जिम्मेवारी र सेवाप्रदायक निकायको जवाफदेहितामा गम्भीर प्रश्न उब्जाएको छ। यात्रुले टिकट काटिसकेपछि, समिति र सम्बन्धित निकायले यात्रुहरूको सुरक्षा, सहज सेवा र गन्तव्यसम्मको जिम्मेवारी सुनिश्चित गर्नुपर्ने कानुनी र नैतिक दायित्व हुन्छ।
यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका ठाकुर भट्टराईले भने, “कुनै यात्रुलाई बाटोमा अलपत्र पार्ने कार्य सह्य छैन। आवश्यक छानबिनपछि सम्बन्धित पक्षमाथि कारबाही गरिनेछ,” भन्दै यात्रु अधिकारको सम्मानमा प्रहरी प्रतिबद्ध रहेको बताए।
तीन घण्टादेखि बाटोमा पर्खाइमा रहेका यात्रुहरूले भने प्रश्न गरेका छन् — “यदि गाडी नबने , के यात्रुहरू बाटोमै अलपत्र पर्नुपर्ने हो?”
पत्रकार tshorolpa.com
