२ कार्तिक २०८२, आइतवार।
हिन्दु धर्मावलम्बीहरूले दशैंपछि मनाउने पाँचदिनीय तिहार पर्वको पहिलो दिनलाई काग तिहार भनिन्छ । तिहार अर्थात् यमपञ्चक पर्व कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ, जसको आरम्भ काग तिहारबाटै हुने परम्परा छ ।
आजको दिनमा कागलाई यमराजको दूतका रूपमा पूजाआजा गर्ने चलन छ । धार्मिक विश्वासअनुसार यमराजका सन्देशवाहक कागले पृथ्वी लोकका प्राणिहरूका कर्म र मृत्युको सन्देश बोकेर लैजाने गर्दछन् । त्यसैले काग तिहारको दिन घरआँगनमा काग बोलाएर पूजा गरी खाना खुवाउने परम्परा आज पनि जीवित छ ।
संस्कृतमा प्रसिद्ध श्लोक पनि कागको सहकार्य र साझेदारी स्वभावलाई देखाउँछ—
काक आहृयते काकान्, याचको न तु याचकम्।
काकयाचकयोर्मध्ये वरं काको, न याचकः।।
अर्थात्— कागले भोजन भेट्टाउँदा आफ्ना साथीहरूलाई पनि बोलाउँछ, तर याचक (भिखारी) भने अरूलाई बोलाउँदैन । स्वार्थरहित र सहअस्तित्वको भावना भएकाले काग नै श्रेष्ठ ठहरिन्छ ।
काग तिहारका दिन घरका छानामा वा आँगनमा अन्न, मिठाइ र परिकार राखी कागलाई अर्पण गरिन्छ । विश्वास छ— आज कागलाई भोजन दिएर मात्र आफूले भोजन गर्दा पुण्य प्राप्त हुन्छ, नत्र पाप लाग्छ ।
यस दिन समुद्रमन्थनका बेला प्रकट भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाइन्छ । साथै, यमदीप दान गर्ने चलन पनि छ — जसले यमराजको यातनाबाट मुक्ति दिलाउँछ भन्ने धार्मिक आस्था रहँदै आएको छ ।
यसैबीच, साहित्यकार तथा प्रकृतिप्रेमी रमेश दुलालले नाराहिटी दरबारमा “काग सम्मेलन” आयोजना गरी कागको सामाजिक र धार्मिक महत्त्वबारे मन्तव्य राख्नुभएको छ । उहाँका अनुसार, “काग नेपाली संस्कृतिको जरोमा रहेको सन्देशवाहक पात्र हो, जसले हामीलाई प्रकृतिसँग जोड्ने काम गर्छ ।”
के तपाईंले पनि आज कागलाई भोजन गराएर मात्र आफू भोजन गर्नुभयो ?
हो, कागलाई खुवाएर खान्छु।
कागलाई खाना राखीदिएर खान्छु।
तिहारको यही आरम्भिक दिनमा सबैलाई शुभकामना —
“काग तिहारको मंगलमय शुभकामना !
