साउन ३१, काठमाडौं | च्छोरोल्पा खबर
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर विविध कार्यक्रम गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर, भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा यो पर्व विशेष श्रद्धा एवं धार्मिक भावनाका साथ मनाइन्छ।
धार्मिक ग्रन्थहरू अनुसार, दुर्जनको विनाश र सज्जनको रक्षाका लागि भगवान् विष्णुले वासुदेव र देवकीको आठौं गर्भका रूपमा अवतार लिई भगवान् श्रीकृष्णको रूपमा धर्तीमा जन्म लिएको विश्वास गरिन्छ।

कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन भगवान् श्रीकृष्णको अवतरण भएको धार्मिक विश्वास रहेको छ। अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउन भगवान् विष्णुले श्रीकृष्णका रूपमा अवतार लिएको जनविश्वास छ।
महाभारतकालीन धर्मयुद्धका क्रममा पाँच पाण्डवमध्येका अर्जुनका सारथीका रूपमा श्रीकृष्णले युद्धको माध्यमबाट धर्मको शिक्षा दिएका थिए। त्यही क्रममा उनले दिएको उपदेश “श्रीमद्भगवद्गीता” को रूपमा प्रख्यात छ, जसले आजसम्म मानव जीवनमा मार्गदर्शन प्रदान गरिरहेको छ।
श्रीकृष्ण र राधाबीचको प्रेम प्रसङ्गले पनि जन्माष्टमीलाई अझ रोचक बनाएको छ। गोपिनीहरूसँगको प्रेम–लीला र झुला उत्सव यो महिनाभर प्रेम–भक्तिको प्रतीकका रूपमा मनाइन्छ।
देशभरका प्रमुख श्रीकृष्ण मन्दिरहरूमा आज विशेष कार्यक्रमहरू आयोजना गरिएका छन्। पाटनको मङ्गलबजारस्थित प्रसिद्ध श्रीकृष्ण मन्दिर, गोठाटारको नवतनधाम, बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिर लगायत देशभरका मन्दिरहरूमा पूजा–आराधना, रथयात्रा, झाँकी तथा शोभायात्रा आयोजना गरी पर्व मनाइँदैछ।
आज विशेषगरी महिलाहरू ब्रत बसेर रातभर भजन–कीर्तन गर्दै, मध्यरात १२ बजे श्रीकृष्णको जन्मको स्मरणमा विशेष पूजा गर्दछन्। यसो गरेमा भगवान् श्रीकृष्ण प्रसन्न भई मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।
